पाल्पामा ‘शून्य होम डेलीभरी’ अभियान संचालन

पाल्पा, ८ भदौ । घरमै सुत्केरी हुने महिलाको अवस्थालाई कम गरी शून्यमा झार्न जिल्ला जनस्वास्थ्य कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियान संचालन गरेको छ ।

घरमै सुत्केरी हुने महिलाको संख्यालाई शून्य दरमा झार्न र स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुनुपर्छ भन्ने मान्यता र चेतना वृद्धि गर्न ‘शून्य होमडेलीभरी’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

घरमै बसेर बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि पनि सताइरहने हुँदा घरमै सुत्केरी हुने प्रथालाई निरुत्साहित गर्नका लागि जिल्लाभरी नै यो अभियान जारी रहेको छ ।

अभियान सफल बनाउन विभिन्न स्वास्थ्य संघ संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक एवं सरोकारवाला निकाय लागिपरेका छन् । अहिले पाल्पा जिल्लामा करिब ८५ प्रतिशत भन्दा बढी महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने गरेको पाइएको छ ।

अझै पनि जिल्लामा १५ प्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन् । घरमै सुत्केरी हुने महिलाको अवस्थालाई शून्य दरमा ल्याउनका लागि कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियान संचालन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अन्य जिल्लाको तुलनामा पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको अवस्था धेरै राम्रो रहेको छ । यसलाई पनि अबको एक दुई वर्षमा कम गर्दै ‘शून्य होमडेलीभरी’ मा परिणत गराउने अभियानलाई कार्यालयले जोड दिएर लागेको उनको भनाइ छ ।

जिल्ला अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै गाउँगाउँमा संचालनमा रहेका २० स्वास्थ्य चौकी गरी जिल्लाभरीमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सुविधा प्रदान गर्दै आइरहेको कार्यालयले जनाएको छ ।

असुरक्षित प्रसूतिका कारण कोही पनि आमा र शिशुले अकालमै ज्यान गुमाउन नपरोस् र स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने महिलाको संख्यालाई १०० प्रतिशत नै पु¥याउन कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियानलाई विशेष प्राथमिकता दिएको कार्यालय प्रमुख डा उमाशंकर प्रसाद चौधरी बताउछन्। उनले  सुरक्षित तवरबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा नै अनिवार्य जान र सरकारले उपलब्ध गराएको सेवा सुबिधा उपभोग गर्न सबैलाई आग्रह गरे ।

कार्यालयले यसका साथै छिटो विवाह गर्ने, सुर्तीजन्य र मादकजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्ने कार्यमा पनि लागेको जनाएको छ । जिल्लामा अझैपनि २० वर्ष उमेर नपुग्दै विवाह गर्ने महिलाको दर ६२ प्रतिशत रहेको छ । उमेर नपुगी विवाह गर्ने अवस्थालाई निरुत्साहित गर्न ‘विहेबारी २० वर्षपारी’ भन्ने अभियानलाई पनि अगाडि बढाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *