स्याङजामा थप छ जनामा स्वाइनफ्लु देखियो, वालिङबासी त्रसित

वालिङ, १९ साउन । स्याङ्जाको वालिङबाट परीक्षणका लागि लगिएको २० वटा नमूनामध्ये छ वटामा स्वाइनफ्लु भनिने इन्फ्लुएन्जा ए एचवान एनवान पोजेटिभ देखिएको छ ।
साउन ९ गते वालिङ १४ का खुमप्रकाश अर्यालको स्वाइनफ्लुका कारण मृत्यु भएपछि काठमाडौँस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्यकर्मीको टोली आएर सम्भावित विरामीको नमूना लिएको थियो । सोही नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा -ए एचवान एनवान पोजेटिभ देखिएको हो ।
हामीले सम्भावित बिरामीको नमूना संकलन गरेका थियौँ”– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भने “बीस वटा परीक्षण गरिएकामध्ये पाँच जनामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) र एक जनामा इन्फ्लुएन्जा बी देखिएको छ ।”
“पोजेटिभ देखिएकामध्ये चार जनाको उपचारपछि निको भइसकेको छ”– जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यामप्रसाद शर्माले भने, “अरु दुई जनाको उपचार भइरहेको छ ।”
वालिङ तथा आसपासका क्षेत्रमा सिजनल इन्फ्लुएन्जाका बिरामी अरु पनि हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् भने स्वास्थ्यकर्मीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
यस रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोसिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा सिजनल इन्फ्लुएन्जा ९ए एचवान एनवान पोजेटिभ० देखिएपछि अब यसको रोकथामका लागि फेरि विशेषज्ञको टोली वालिङ आउने बताइएको छ ।
पछिल्लो एक सातामा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा रुघाखोकीका बिरामीको चाप निक्कै बढेको डा घिमिरेले बताउछन । स्थानीय त्रसित रहेको अवस्थामा स्वास्थ्यकर्मीले भने विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



