स्वास्थ्य बीमामा उल्लेखित यी कुरा बारे तपाईँलाई थाह थियो ?

कल्पना पौडेल / काठमाडौँ, ८ साउन । सरकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन् ।

नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा सुरुआती दिन जनतामा अलमल देखिएको थियो ।

जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरिएको यो कार्यक्रम १५ जिल्लामा विस्तार भइसक्यो र तद्नुरुप यसप्रति जनताको चासो बढेको छ ।

बीमा गराइसकेपछि कसरी उपचार पाइन्छ ? के के रोगको उपचार हुन्छ ? कसरी उपचार सेवा लिने ? बीमा गरेको सदस्यमध्ये कसैको स्वभाविक मृत्यु भए बीमाको पैसा फिर्ता हुन्छ त ? आफ्नो स्थायी घरभन्दा बाहिर बस्ने व्यक्तिले कसरी सदस्य बन्ने र उपचार पद्धति के हुने ? भन्नेलगायतका प्रश्नले जनतामा अन्योलता हुँदा सदस्य बनाउन समस्या परेको अनुभव छ सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा गुणराज लोहनीको छ ।

बीमा कार्यक्रम शुरु भएपछि यसबारे आमजनताले विस्तारै बुझ्न थालेको उनले बताए । “सुरुआती दिनमा सेवाप्रदायक संस्थाका प्रमुख, चिकित्सक, फर्मासिस्ट र दर्तामा बस्ने व्यक्तिलाई बीमा प्रणालीकाबारे तालीम दिएपछि भने जनतालाई पनि बुझाउन अलि सहज भएको हो”– डा लोहनी भने ।

सरकारले दुई वर्षअघि आमनागरिकको स्वास्थ्योपचारमा सहज पहुँच बनाउन सामाजिक सुरक्षा विकास समिति मार्फत यो कार्यक्रम अघि बढाएको हो । आव २०७२ चैत २५ गतेदेखि कैलालीबाट शुरु गरिएको यो कार्यक्रमले अहिलेसम्म ८४ हजार जनालाई सदस्य बनाइसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जानकारी दिएको छ ।

असार सकिँदा यो संख्या एक लाख नाध्ने समितिको भनाइ छ । चौरासी हजारमध्ये २४ प्रतिशत अर्थात् २० हजारले उपचार सेवा लिएको समितिको तथ्याँक छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु
कैलाली, बाग्लुङ, इलाम, कास्की, पाल्पा, म्याग्दी, अछाम, बैतडी, जुम्ला, जाजरकोट, चितवन, मकवानपुर, भक्तपुर, तनहूँ र गोरखामा यो कार्यक्रम लागू भइसकेको छ ।

आउँदो साउन, भदौ र असोजदेखि बाँकी १० जिल्ला महोत्तरी, बर्दिया, सुर्खेत, झापा, पर्सा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, रौतहट र रोल्पामा कार्यक्रम लागू गर्न आवश्यक तयारी पूरा भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अधिकृत जागुराम चौधरीले जानकारी दिए ।

सदस्यता बढी लिने जिल्ला पाल्पा र कास्की

सदस्यता बढी लिने जिल्लामा पाल्पा र कास्की अगाडि रहेका छन् । पाल्पामा २० हजार भन्दा बढी र कास्कीमा २३ हजार भन्दा बढी व्यक्ति बीमित बनेका छन् ।

पहिले कार्यक्रम शुरु भएको हिसाबले उपचार सेवा लिनेमा सबैभन्दा अघि कैलाली जिल्ला छ । हालसम्म कैलालीमा ११ हजार ६८६ बीमितमध्ये छ हजार १०१ सदस्यले उपचार सेवा लिएका छन् । बीमित बन्ने सबै जिल्लामा पुरुषको तुलनामा महिला धेरै छन् ।

गत असारदेखि भक्तपुर, गोरखा, तनहुँ, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा कार्यक्रम शुरु गरिएको छ । असारमा स्वास्थ्य सुरक्षा कार्यक्रमका लागि दर्ता भएका बीमितले भदौदेखि स्वास्थ्य सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

बीमितले वीर अस्पताल, शिक्षण अस्पताल, मनमोहन कार्डियोभास्कुलर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र मानव अङ्ग प्रत्यारोपण केन्द्र, गंगागाल हृदय केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउने पाउने गरी समितिले सम्झौता गरेको छ । यी अस्पतालमध्ये वीर अस्पतालमा सबैभन्दा धेरै बीमितले उपचार गराएका छन् ।

आवश्यकताअनुसार कार्यक्रम लागू भएका अन्य निजी अस्पतालमा सम्झौता गर्दै जाने समितिको योजना छ । वीर अस्पतालका सामाजिक सुरक्षा इकाइ प्रमुख तथा बीमाको वीर अस्पतालका फोकल पर्सन टीकाराम पनेरुका अनुसार वीर अस्पतालमा ६० भन्दा बढी नागरिकले सेवा लिइसकेका छन् ।

यसरी उपचार सेवा लिने बीमितको जटिल शल्यक्रियाअन्तर्गत फोक्सोको प्वाल टाल्ने र मिर्गौला तथा पिसाब थैलीको पत्थरीको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाका जनताले पाँच जनासम्मको परिवारका लागि वर्षको रु दुई हजार ५०० तिरेर सदस्य बन्न पाउँछन् । यसरी सदस्य बनेपछि उक्त परिवारले वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारमा भए एक व्यक्ति बराबर रु ४५० बढी तिरेर सदस्य बनेपछि रु १० हजारभन्दा बढीको थप सेवा दिन पाउने व्यवस्था छ । एक वर्षका लागि मात्र मान्य हुने भएकाले अर्को वर्षका लागि पुनः रकम बुझाएर सदस्यता नवीकरण गर्न सकिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवाका अतिरिक्त कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि उपलब्ध गराउँछ । अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्स–रे लगायतका सेवासुविधा बीमितले पाउँछन् । पाँच सय ३० प्रकारका औषधि पनि यसैभित्र पर्छ ।

बीमाले नहेर्ने केशहरु

स्वास्थ्य बीमाले प्लास्टिक सर्जरी, महँगा चश्माको खरिद र कानमा लगाउने सुन्ने मेसिनलाई समेट्दैन भने रक्सी खाएर कुटाकुट गरी घाइते भएकालाई पनि सेवा प्रदान गर्दैन । समितिका कार्यकारी निर्देशक डा लोहनीले स्वास्थ्य बीमाले ठूला रोग लाग्ने सम्भावनालाई हटाउने भए पनि माथि उल्लेख भएका विषयमा सहयोग नगर्ने बताउनुहुन्छ ।

उनले भने, “स्वास्थ्य बीमाले ५०० भन्दा बढी मूल्यका चश्माको पैसा तिर्दैन । दाँत भर्ने, दाँतमा तार हाल्ने, यौन तथा कस्मेटिक सर्जरी तथा इम्प्लान्ट पनि बीमाको सहुलियतमा पर्दैन ।”

उपचार कहाँ हुन्छ ? के हो प्रक्रिया ?

स्वास्थ्य बीमामा सहभागीले बीमा फाराम भर्दा नै कहाँ उपचार गराउने हो त्यस्तो स्वास्थ्य संस्थाको नाम उल्लेख गर्नुपर्छ ।

त्यसैअनुसार स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म उपचार गराउन पाउने व्यवस्था गरिएको छ ।

कार्यकारी निर्देशक डा लोहनीले पहिलो बिन्दु प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकिएको र त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा गई सेवा लिन पाउने बताए । “तर एकैपटक माथि जान खोजेमा बीमाले त्यसलाई समेट्दैन” – उनले भने ।

सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार भने यथावत् राखेको छ । बिरामीले स्थानीय र जिल्ला अस्पतालमा उपचार गराउन नचाहेमा केन्द्रीय अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गराउन पाउने व्यवस्थालाई भने फागुनदेखि हटाइएको छ ।

नयाँ व्यवस्थाअनुसार आकस्मिक वा रेफरल बिरामीको मात्र केन्द्रीय अस्पतालमा उपचार हुने र त्यसबाहेकका बिरामीले उपचार गराउन चाहेमा बीमा कार्यक्रमले नसमेट्ने समितिका अधिकृत रवीचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

बीमा बापतको रकम फिर्ता हुँदैन

यहाँ बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा के छ भने परिवारमध्ये कुनै सदस्यको स्वाभाविक मृत्यु भएमा उसको बीमाबापतको रकम फिर्ता हुँदैन ।
स्थायी ठेगाना एउटा जिल्ला भई बसोबास अर्को जिल्लामा छ भने सदस्य बन्दा कहाँबाट उपचार लिने हो उक्त अस्पतालको नाम खुलाउनुपर्छ ।

एकै घरका सदस्य फरक ठाउँमा उपचार लिने हो त्यो पहिले नै खुलाउनुपर्छ । अर्कै जिल्लाबाट सदस्य बनेर सेवा लिने हो भने पुनः नयाँ सदस्य बन्नुपर्छ । त्यसका लागि रु दुई हजार ५०० तिर्नुपर्छ ।

बीमा कार्यक्रम लागू भएका जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रलाई भौतिक पूर्वाधारयुक्त बनाउन समितिले प्रयोगशाला उपकरण ८० सेट, एक्स–रे ८० सेट र इसिजी ८० सेट खरिद गरी कतिपय जिल्लामा पठाइसकेको र केहीमा छिट्टै पु¥याउने अधिकृत चौधरीले बताउनुभयो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *