विशेषज्ञ नहुँदा त्रिशूली अस्पतालमा प्रसूतिको शल्यक्रिया बन्द

नुवाकोट, ५ साउन । जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ ।

त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ । सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा जटिलता उत्पन्न हुन सक्ने भयले गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा राजेन्द्र लामाले बताए ।

नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा चिकित्सक नहुंँदा प्रसूति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताए। अस्पतालमा दैनिक १२/१५ सुत्केरी हुने गथ्र्यो ।

प्रसूति सेवा बन्द भएपछि प्रसूति विशेषज्ञ पठाइदिन प्रमुख पण्डितले स्वास्थ्य मन्त्रालयका सचिव डा किशोर रेग्मीसँग माग गरेका छन् । आज अस्पतालको निरीक्षण गर्न आएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा वासुदेव पाण्डेको टोलीलाई अस्पतालमा दुई प्रसूति विशेषज्ञ पठाउन माग गरिएको पण्डितले बताए।

विगतमा एक मात्र विशेषज्ञ चिकित्सक भएकाले सेवा बेला बेला प्रभावित हुने गरेको थियो । डा पाण्डेको टोलीले जिल्ला अस्पतालमा पुगेर नगर प्रमुख पण्डित, अस्पताल विकास समिति, अस्पताल सरोकार समिति तथा अस्पताल प्रशासन र चिकित्सकसंँग अन्तरक्रिया गरी छिटोभन्दा छिटो प्रसूति विशेषज्ञ पठाइदिने आश्वासन दिएको अस्पतालका डा लामाले जानकारी दिए ।

अस्पतालमा कार्यरत प्रसूति विशेषज्ञ डा विनम्र सिलवाल काज अवधि पूरा भएर फर्किएपछि उनको स्थानमा मन्त्रालयले कोही पनि नपठाउंँदा एक सातादेखि समस्या आएको हो । चार दशक पुरानो ५० शय्याको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १७ चिकित्सकको दरबन्दी रहेकामा दुई मात्र स्थायी दरबन्दीका चिकित्सक रहेको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *