अञ्चल अस्पतालमा बालकको मृत्यु: लापरबाही भएको आफन्तको आरोप

धनुषा, ५ साउन । जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका विरामीको मृत्यु भएको परिवार र आफन्तले आरोप लगाएका छन् । धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ ।

बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले जाँच गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्याप्दै ल्याएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।

राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताए। उनका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए ।

राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताएकी छन् ।

आज बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *