उपत्यका बासीले प्रयोग गर्ने ६३ प्रतिशत खानेपानीमा ‘कोलिफर्म’
काठमाडौँ, ३० असार । राजधानी बासीले प्रयोग गर्ने खानेपानीमा ६३ प्रतिशत कोलिफर्म ( हैजा तथा झाडापखला गराउने जिवाणु) रहेको पाइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा गरिएको अध्ययनले यस्तो पाइएको हो । कोलिफर्म मानिसको दिसामा पाइने एक किसिमको सुक्ष्म जिवाणु हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र खानेपानी संस्थानले संयुक्तरुपमा गरेको पानीको परीक्षणमा काठमाडौँमा ६६ प्रतिशत, ललितपुरको पानी ५० प्रतिशत र भक्तपुरको पानीमा ७३ प्रतिशत कोलिफर्म भेटिएको हो ।
काठमाडौँका जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकाको पानी अत्यन्तै प्रदुुशित रहेको भन्दै उमालेर खानुको विकल्प नभएको बताए । उनले धाराको पानी ट्यांकरको पानी र जारकै पानी भएपनि उमालेर खान सुझाव दिए ।
तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेलका ल्याव प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले भने आफूहरुले वितरण गरेको पानी खानयोग्य भएको बताए । उनले अन्य पानी व्यावसायीबाट वितरित पानीमा समस्या आएको दावी गरे । उनले अहिले व्यावसायीहरुको पानीसमेत जाँच गरी स्टीकर लगाउन थालिएको भन्दै उनले स्टिकर हेरेर मात्रै पानी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । यद्धपी उनले पानी उमालेर पिउन सुझाव दिए ।
निलो स्टीकर टाँसेको पानी खान योग्य
केयुकेएलले निलो स्टीकर टाँसेको ट्यांकरको पानी खान योग्य भएको जनाएको छ । आफूले ८ वटा ट्यांकरबाट खानयोग्य पानी वितरण गरिरहेको दावी गर्दै केयुकेएलका ल्याव प्रमुख कार्कीले भने अरुको पानी प्रयोग गर्दा भने सचेत हुन जरुरी छ ।
कार्कीका अनुसार काठमाडौँमा निलो हरियो र पहेलो गरी तीन थरी स्टिकरको व्यवस्था गरिएको छ । निलो नउमालिकन समेत खान मिल्ने, हरियो उमालेर खान सकिने र पहेलो स्टीकरवाला पानी खानका लागि अयोग्य हुने बताइएको छ । उनले जनतालाई स्टिकर हेरेर खानेपानीको प्रयोग गर्न सुझाव दिए ।
काठमाडौँमा दैनिक २५ जना झाडापखालाबाट ग्रसित
काठमाडौँमा दैनिक २५ जना व्यक्ति झाडापखलाका कारण अस्पताल भर्ना हुने गरेका छन् । विभिन्न १५ वटा अस्पतालमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र काठमाडौँ खानेपानी लिमिटेडले गरेको अध्ययनबाट प्रदुशित पानीका कारण झाडापखलाको समस्या देखिइरहेको उल्लेख छ ।
जिल्ला जनस्वाथ्य कार्यालय काठमाडौँले जेठ महिनामा मात्रै उपत्यकामा दुई हजार बढी व्यक्तिमा झाडा पखला भएको पाइएको भन्दै यस्तो जोखिमबाट बच्नका लागि सरसफाई, पानी शुद्धिकरण तथा जनचेतना विस्तार लगायतको कार्य जररी रहेको बताएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।









