मुना मेमोरियल ट्रष्टद्धारा बीर अस्पताललाई गाउन वितरण

काठमाडौँ, २६ असार । बीर अस्पताललाई पाल्पास्थित मुना मेमोरियल मेमोरियल ट्रष्टले ३ सय ७० थान गाउन (बिरामीले लगाउने पोसाक) उपलव्ध गराएको छ ।अष्ट्रिया नेपाली समाजको सहयोगमा ट्रष्टले वीर अस्पताललाई उक्त परिमाणमा गाउन सहयोग गरेको हो।
बीर अस्पतालमा आज आयोजित कार्यक्रममा ट्रष्टले पूर्व स्वास्थ्य मन्त्री गगन थापा मार्फत अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतलाई गाउन हस्तान्तरण गरेको छ ।
कार्यक्रममा निर्वतमान मन्त्री थापाले वीर अस्पतालप्रति विश्वास बढ्दै गएको बताए। उनले अस्पतालप्रति विश्वास बढेकै कारण मुना मेमोरियल ट्रष्ट जस्ता परोपकारी संस्थाको सहयोगी हात थपिएको बताए।
पाल्पाको रामपुर नगरपालिका–१० मा जन्मिएकी मुना अधिकारी पौडेल विगतमा वीर अस्पतालमै काम गर्थिन्। वीर अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत मुना अष्ट्रिया गएकी थिइन्। तर, उनको २०६८ सालमा क्यान्सरका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि उनकै चाहनामा ट्रष्टको स्थापना गरी स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ट्रष्टका अध्यक्ष अमृत अधिकारीले जानकारी दिए।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



