चार औषधि पसलमा सिलबन्दी

0
Shares

काठमाडौँ, ८ असार । नियमविपरीत सञ्चालित कीर्तिपुरका चार औषधि पसलमा आज सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष बजार अनुगमनका क्रममा स्वीकृति नलिई सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री वितरण गरेको पाएपछि ती पसलमा सिलबन्दी गरेको हो ।

सिलबन्दी गरिएका पसलहरुमा उग्रतारा–गुनिक पोलिक्लिनिक एन्ड डायग्नोसिष्ट सेन्टर, ओरल डेन्टल प्रालि, नवीन फर्मा र रिना मेडिकल हल कीर्तिपुर रहेका छन् । सिलबन्दी गरिएका ती चारवटै पसललाई दिएको निर्देशन पालना गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

अनुगमन अधिकृत ढुण्डीराज पोखरेल, मोहन पुडासैनी र विष्णुप्रसाद सुवेदीसहितको तीन टोलीले आज माछामासु, औषधि र यातायात क्षेत्रको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा त्रिपुरेश्वरमा १९ वटा सार्वजनिक यातायातका साधनलाई कारबाही गरी लिएको बढी भाडा यात्रुलाई नै फिर्ता गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

यसैगरी जोरपाटी, कमलबारी र तीनचुलीका आठ वटा माछामासु पसललाई सरसफाइ र प्यान दर्ता गर्न निर्देशन दिई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी गत जेठ २३ गतेदेखि विभागले बजारमा विशेष अनुगमन सुरु गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *