क्यान्सर रोगीको आवाज फर्काउने १०० रुपैयाँको डिभाईस ?
काठमाडौँ, २६ जेठ । घाटीको क्यान्सर भई आवाज गुमाएकाहरुका लागि खुशीको खबर छ । भारतका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावको टोलीले कृतिम ‘भ्वाईस बक्स – डिभाइस’ तयार गरेको छ । ‘ॐ’ नाम दिइएको सो ‘भ्वाइस बक्स डिभाइस’ सुफत मूल्यमा सर्वसाधारणलाई उपलव्ध गराउने टोलीले दावी गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा हेल्थ केयर ग्लोबल(एचसीजी) क्यान्सर सेन्टरका बरिष्ठ डा. रावले गरीव तथा सर्वसाधारणलाई लक्षित गरी ल्याइएको डिभाइसले नेपालका तमाम विरामीलाई सहयोग पुग्ने विश्वास गरे ।
उनले भने, ‘घाँटीको क्यान्सर भएका कतिपय विरामीको अप्रेशन गरी स्वरयन्त्र फाल्नु पर्ने र घाटीमा प्वाल पार्नुपर्ने अवस्था हुनसक्छ । जसका कारण विरामी निको नै भएपछि आवाज आउन सक्दैन । त्यस्तै समस्यामा परेका व्यक्तिलाई लक्षित गरी हामीले यो नयाँ खालको डिभाईस तयार गरेका छौँ । साधारण सर्जरी गरी सो डिभाइस घाटीमा फिट गरेपछि आवाजविहीनहरुको आवाज आउँछ ।’

उनले आफूहरुले बनाउनुपूर्व यस्तै मसिन आउने र त्यसको मूल्य ५ सय डलरसम्म पर्ने गरेकोमा आफूहरुले उत्पादन गरेको मेसिनको मूल्य भने एक डरल राखेको बताए । ‘यो त गरीब विरामीका लागि बरदान नै हो उनले भने । कहाँ पाँच सय डलर कहाँ एक डलर’ उनले भने ।
पहिलो पटक नेपाल आएका उनले घाटीका क्यान्सर विरामीको अवस्था भयावह रहेको भन्दै आवाज विहीनका लागि आफ्नो टोलीले बनाएको ओम मसिनले आवाज विहीन बनेकाहरुलाई आवाज फर्कादिने विश्वास गरे ।
उनले नेपालका केही अस्पतालहरुमा सो मेसिन पठाइसकेको भन्दै क्यान्सरका विरामीलाई पाँच सय गुना सस्तो मेसिन उपलव्ध गराएको दावी गरे ।
‘क्यान्सर बोलाउने तत्व सुर्तीजन्य पदार्थ छुँदै नछोउँ‘
क्यान्सर रोग विशेषज्ञ डा. रावले सुर्तीजन्य पदार्थको प्रयोगले असर नगर्ने कुनै अंग नै नभएको भन्दै यसको प्रयोग गर्दै नगर्न सुझाव दिए । उनले क्यान्सर रोगको ९० प्रतिशत कारक सुर्तीजन्य पदार्थ भएको भन्दै रोग निम्त्याउनका लागि सुर्तीजन्य पदार्थको प्रयोग किन गर्ने भन्दै प्रश्न गरे ।
नेपालमा करीब २५ हजार र भारतमा करीब १० लाख मानिस हरेक बर्ष सुर्तीजन्य पदार्थको प्रयोगले मर्ने गरेको प्रसंग झिक्दै डा रावले भने, त्यो थाह पाउँदा पाउँदै पनि हामी सुर्ती उद्योगलाई नियन्त्रण गर्न सक्दैनौँ न त आफ्नो मनलाई नै नियन्त्रण गर्न सक्छौँ । उनले सुर्ती उत्पादकले बर्षेनी लाखौँ मासिनलाई कुलतमा फसाएको बताए ।
सुर्ती नियन्त्रण सम्वन्धी कानून बनाउन नेपालबाट सिक्यौँ
धूमपान तथा सुर्तीजन्य पदार्थ विरुद्धका भारतीय अभियन्ता समेत रहेका डा रावले सुर्ती नियन्त्रणसम्वन्धी उत्कृष्ठ कानून बनाएर नेपालले विश्वलाई चकित पारेको बताए ।उनले भारत सरकारले पनि सुर्ती नियन्त्रणसम्वन्धी कानून बनाउन नेपालबाटै सिकेको दावी गरे ।
‘म आफै पनि सुर्ती नियन्त्रण सम्वन्धी कानून बनाउने स्थानमा बसेको छु । र मैले स्पष्ट संग भन्छु हामीले कानून बनाउन तपाईँहरुकै देशको कानून हेरेर सिकेकाँ हौँ ‘ कानूनको उच्च प्रशंसा गरेका डा रावले कार्यान्वनय नभएको प्रति भने चिन्ता व्यक्त गरे । हामी भन्छौँ, ‘बनाएका कानून तत्काल लागू गरौँ र गराऔँ ।’