उपचारपछि अनुसन्धानको बाटोमा अघि बढ्दै बाथरोग सेन्टर

काठमाडौँ, २२ जेठ । बाथरोगको उपचार र जनचेतनामा क्रियाशिल नेशनल बाथरोग सेन्टर अब अध्ययन अनुसन्धानमा समेत सक्रिय हुने भएको छ ।

स्थानीय समुदायमा पुगेर ‘नाट कर्ड’ विधिबाट बाथरोगीको सर्भेक्षण गर्न डा विभुति उप्रेतीको संयोजकत्वमा टोली गठन गरेको छ । डा उप्रेतीको टोलीले स्थानीय तहमा पुगेर बाथरोगीको पहिचान तथा अवस्थाको बारेमा अध्ययन गर्नेछ ।

चौथो बार्षिकोत्सव समारोहको अवसर पारी रातोपुलमा आयोजित कार्यक्रममा नेशनल बाथरोग सेन्टरका अध्यक्ष एवं बरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले अनुसन्धान टोलीको नेतृत्व गरेकी डा उप्रेती र अनुसन्धान अधिकृत रक्षा जोशीलाई कार्यादेश पत्र प्रदान गरेका थिए । सो क्रममा बोल्दै डा बैद्यले अनुसन्धान पछि नेपालमा बाथरोगीको बास्तविक अवस्था थाह हुने र थप प्रभावकारी उपचार प्रदान गर्न सहयोग पुग्ने बताए ।

त्यसो त बाथरोगको क्षेत्रमा अनुसन्धान गर्दै आएको अन्तराष्ट्रिय संस्था त अमेरिकन कलेज अफ रुमाटोलोजीले संसारका हरेक देशका कुल जनसंख्याको १० प्रतिशत नागरिक बाथरोगबाट पिडीत हुने गरेको प्रक्षेपण गरेको छ । त्यस आधारमा झण्डै ३० लाख नेपालीलाई बाथरोगको समस्या भएको अनुमान छ ।

नेशनल बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले नेपालमा कुल बाथरोगी मध्ये झण्डै १५ प्रतिशत मात्रै उपचारको पहुँचमा रहेको भन्दै बाँकी ८५ प्रतिशतलाई उपचारको पहुँचमा ल्याउन पनि नयाँ अनुसन्धान जरुरी रहेको बताए । उनले सोही कारण नेशनल बाथरोग सेन्टरले उपचारसंगै जनचेतना र अनुसन्धानमा संगसंगै अघि बढ्ने बताए ।

सरकार सहयोग गर्न तयार छ स्वास्थ्य राज्यमन्त्री गुरुङ
यसैबीच सेन्टरको चौथो बार्षिकोत्सव समारोह उदघाटन गर्न पुगेका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सेन्टरले सुरु गर्न लागेको बाथरोगको अध्ययन अनुसन्धानमा सरकारले सहयोग गर्ने बताए ।

हिजो आज घरैपिच्छे बाथरोगी भएको र यसको एकिन तथ्य पत्ता लगाउन समेत जरुरी रहेको भन्दै मन्त्री गुरुङले भने, ‘पव्लीक प्राइभेट पार्टनरसीपको रुपमा हामी हातेमालो गर्न चाहन्छौँ ।’  उनले स्वास्थ्य उपकरणहरुमा भन्सार छुट दिने तयारी रहेको भन्दै सेन्टरका लागि पनि यो सहयोग रहने बताए ।

उत्कृष्ठ कर्मचारीहरु पुरस्कृत
यसैबीच नेशनल बाथरोग सेन्टरले बार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कार्य गरेका आफ्ना कर्मचारीलाई पुरस्कृत गरेको छ । सेन्टरले आफ्ना चारवटा शाखा रातोपुल, ललितपुर, भक्तपुर र पोखरामा उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई स्वास्थ्य राज्यमन्त्रीको हातबाट पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा पोखरा शाखाबाट कृष्णराज पोखरेल, ललितपुर शाखाबाट दीपेश दाहाल, भक्तपुर शाखाबाट रन्जना सिन्थाकल र रातोपुल शाखाबाट रबि प्रजापती रहेका छन् । सेन्टरले विभागीय रुपमा उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पनि पुरस्कृत गरेको छ ।

त्यसरी पुरस्कृत हुनेमा हाउसकिपिङ विभागबाट रीता माझी, फार्मेसी विभागबाट सुष्मा श्रेष्ठ, प्याथोलोजी विभागबाट निरन्जना बस्नेत, प्रशासन विभागबाट करुणाकर भट्ट र मेडिकल विभागबाट डा अभिलाशा शाह छन् । सोही अवसरमा नेपाल बाथरोग समाजले सेन्टरका अध्यक्ष एवं बरिष्ठ बाथरोग विशेषज्ञ डा बैद्यलाई समेत सम्मान गरेको थियो ।

७५ हजारको बाथरोगीको उपचार
सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले काठमाडौँ, भक्तपुर ललितपुर र पोखराको सेन्टरबाट चार बर्षको अवधीमा कुल ७५ हजार विरामीको उपचार भएको जानकारी दिए ।

उनले उपचार गराउनेमध्ये कतिपय ओपिडीबाट र कतिपयले निशुल्क स्वास्थ्य शिविरबाट उपचार सेवा लिएको जानकारी दिए ।

नेपाल बाथरोग समाजका अध्यक्ष प्रसान्त मानन्धरले बाथरोगीको समस्या झन झन भयावह बनेको भन्दै सरकारले यसबारे ध्यान दिनुपर्ने बताए । उनले समयमै पहिचान र उपचार हुन नसक्दा कामकाजी उमेरका मानिसहरु अपांङ जस्तै बनेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *