कुकुरले टोकेका बिरामीलाई एन्टिरेबिज खोप अभाव

गौशाला, १९ वैशाख । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् ।

जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक-दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक आठ-दशजना कुकुरले टोकेका बिरामी आउन थालेको चिकित्सक साकेश कर्णले बताए ।

उनले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप ह्वात्तै बढेको बताए ।

तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको चिकित्सक कर्णले बताए । तर विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको चिकित्सक कर्णले बताए।

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

कुकुरले टोकेका बिरामीलाई अस्पताल बाहिरबाटै सुई किनेर लगाउनुपरेको छ भने जिल्ला अस्पतालले सम्बन्धित निकायमा एन्टिरेबिजको माग गरिसकेको र दुई-चार दिनमा पुनः एन्टिरेबिज सुई उपलब्ध भइसक्ने चिकित्सक बताउँछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *