मेडिकल कलेज स्थापना गर्छु : नगरप्रमुख महत
हेटौँडा, १२ जेठ । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज यहाँ आयोजित शपथग्र्रहणपछि पदभार सम्हाल्दै उनले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापनाका लागि योजनासमेत अगाडि बढाउने उद्घोष गरे ।
उनले सहिद स्मारकको विकासका लागि आफूहरु लागिपरेको भन्दै अब अर्को पर्यटकीयस्थल गुम्बा डाँडाको पनि भौतिक विकासमा जोड दिने बताए ।
पदभार ग्रहणअघि नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराएका थिए।
शपथ ग्रहणपछि नवनिर्वाचित जनप्रतिनिधिले विगतमा कर्मचारीबाट समस्या भोगिरहेका नगरवासीलाई छिटो छरितो ढङ्गले सेवा दिन आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता जनाए ।
शपथग्रहण समारोहमा नगरप्रमुख महत, उपनगर प्रमुख मीना लामा, र १९ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका थिए। रासस