झापामा बर्सेनि थपिँदै मिर्गौला रोगी, सरकारीमा नभएपछि निजीबाट सेवा

झापा, ४ जेठ । झापामा आव २०७३/०७४ मा ५८ मिर्गौला रोगी थपिए छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ ।

मिर्गौला रोगीका लागि सरकारले निःशुल्क हेमोडायलासिस सेवा उपलब्ध गराउने निर्णय गरे पनि मिर्गौला रोगीले अझैसम्म निःशुल्क सेवा लिन पाएका छैनन ।

हेमोडायलासिस गराउन महिनामा करिव रु २४ हजार खर्च हुन्छ । सरकारले मिर्गौला रोगीको निःशुल्क उपचार गर्ने भन्दै देशभरका विभिन्न अस्पताललाई निर्देश गरेपनि भद्रपुस्थित मेची अञ्चल अस्पतालमा यो सेवा सुरु नहुँदा बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालबाट सेवा लिइरहेका छन् । अहिले झापाको बिर्तामोडमा रहेको निजी अस्पताल पूर्णटङ्ग विर्ता सिटीमा यो सेवा सुचारु छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार केही समयदेखि ओमसाई पाथीभरा अस्पतालले निःशुल्क मिर्गौलाको हेमोडायलासिस सेवा सुरु गरेपनि दुई वटा मात्र उपकरण भएकाले बिरामीले सहजै सेवा लिन कठिन छ । “दैनिक तीन चरणमा छ जनाको मात्रै डायलासिस हुन्छ” उक्त अस्पतालका दीप पोखरेलले भने– “बिरामीको चाप उच्च छ, सबैलाई हामीले चाहेर पनि सेवा दिन सकिरहेका छैनौँ ।”

झापामा मिर्गौला रोगीको सङ्ख्या बर्सेनि बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालका सूचना अधिकारी देवराज कार्कीका अनुसार आव २०६६/०६७ मा ३४ जना २०६७/०६८ मा ४८, २०६८/०६९ मा ३६, २०६९÷/७० मा ४०, २०७०/७१ मा ५२, २०७१/७२ मा ६५ र २०७३/०७४ मा ६५ जना मिर्गौलाका नयाँ रोगी थपिएका छन् ।

एक पटक मात्र हेमोडायलासिस गराउँदा सेवा शुल्क रु दुई हजार पाँचसय, बुझाउनु पर्छ त्यसमाथि औषधि, रगत र बोतल किन्दा झन्डै रु पाँच हजार लाग्छ मेची नगरपालिका निवासी मिर्गौला रोगी अमृतलाल श्रेष्ठले भने उनीअहिले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट सेवा लिइरहेका छन् । राष्ट्रिय समाचार समितिका पूर्व मेची अञ्चल प्रमुख समेत रहेका श्रेष्ठले भने– “एक पटकमा नै रु पाँछ हजारको हाराहारीमा खर्च आउँछ सातामा दुई पटक गराउनेको समस्या झन कस्तो होला रु”

“सरकारले राजधानी केन्द्रित गरेर यो सेवा सञ्चालनमा ल्याएजस्तै भएको छ मलाई । ” उनले भने– “यत्रो मेची अञ्चलमा एउटा निजी अस्पतालमा यो सेवा सुरु भएको छ, मेची अञ्चल अस्पतालमा पनि यो सेवा सुरु भएको भए अझ रोगीलाई सहज हुने थियो ।”

प्राविधिक अभावमा यो सेवा सुचारु गर्न नसकेको बताउछन् उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पीताम्बर ठाकुर । यो सेवा सुरु गर्न आन्तरिक स्रोतबाट दुई वटा र स्वास्थ्य मन्त्रालयबाट दुई वटा गरी चार वटा उपकरण छन् तर प्राविधिकको अभावमा ती उपकरण थन्क्याउनु परेका थिए अब चुनावलगत्तै यो सेवा सुचारु हुने उनी बताउछन् ।

बिर्तासिटी अस्पतालमा दैनिक १० जनाभन्दा बढीको हेमोडायलासिस हुन्छ । यो दर दिनदिनै बढ्दो छ निजी लगानीमा भए पनि सेवा सुरु गरेकाले यहाँका बिरामी अन्यत्र धाउन नपरेको चिकित्सक अनिल बस्नेतले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *