सबैको सहयोगले बाँचे उत्सव

मोरङ, २८ वैशाख । आर्थिक सहयोग जुटाएपछि मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती टोलका १२ वर्षीय उत्सव धिमाल भारतको टाटा अस्पतालबाट क्यान्सरको सफल उपचारपछि घर फर्किएका छन् ।

टाउकामा ट्युमर भएको भन्दै काठमाडौँको दीर्घायु अस्पतालले त्यसको शल्यक्रिया गरेको थियो । त्यसपछि रोग झन् जटिल भएपछि टाउकाको उपचार गर्न भारतको बम्बईस्थित टाटा मेमोरियल अस्पताल पुग्दा क्यान्सर भएको अस्पतालले पत्ता लगाएको थियो ।

त्यहाँ लगातारको आठ महिनाको उपचारपछि उत्सव निको भएर घर फर्किएका छन् । विपन्न समुदायका उत्सवको उपचारका लागि सहयोग जुटाउन युवा सहयोगी साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउ अभियान समिति’ गठन गरेर आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाइएको थियो ।

गत वर्ष समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएपछि आर्थिक सहयोग जुटेको थियो । देश विदेशबाट रु नौ लाख ४८ हजार ७६५ रकम सङ्कलन भएर उपचार गराउन सम्भव भएपछि छोराको ज्यान बाँचेको उत्सवकी आमा उमा धिमालले खुसीका आँसु झार्दै पत्रकारलाई बताइन्। उत्सवकी आमा उर्मिलाले भनिन्, “पत्रकारको सहयोग नपाएको भए आज मेरो छोरा सायद जीवित हुन्थेन होला ।”

नेपालमा र भारतमा समेत गरी उत्सवको उपचारमा रु २१ लाख ९० हजार खर्च लागेकोमा सहयोगबाट उठेको रकमबाहेक आफ्नो सम्पूर्ण जायजेथाका रुपमा रहेको घर बन्धकी राखेर उपचार सम्पन्न गरेको परिवारले बताएको छ । सहयोगीकै सहयोगबाट छोराको ज्यान बच्न पुगेको भन्दै उत्सवका बुबा छत्रबहादुरले सहयोगी तथा सञ्चारकर्मीलाई विशेष धन्यवाद ज्ञापन गरे। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *