स्वास्थ्यका प्रविधिजन्य उपकरण खरिद गर्न निर्देशिका

काठमाडौँ, २६ वैशाख । सरकारले पहिलोपटक प्रविधिजन्य सामग्री र उपकरणको खरिद र वितरणलाई व्यवस्थित गर्न ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४’ ल्याएको छ ।

सोमबार बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको उक्त निर्देशिकालाई पारित गरेपछि स्वास्थ्य सामग्री तथा उपकरणको मूल्य निर्धारण नहुँदा भइरहेको अनियमिततालाई नियन्त्रण गर्न पहिलो पटक बाटो खुलेको हो ।

स्वास्थ्य मन्त्री गगन थापाले निर्देशिका पारित भएसँगै प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको अधिकतम खुद्रा मूल्य तोकिने बताए ।

उनले भने, “निर्देशिका लागू भएपछि सस्तोमा गुणस्तरीय स्वास्थ्य सामग्री तथा उपकरण मात्रै खरिद हुने भएपछि स्वास्थ्य सेवा पनि सस्तो र गुणस्तरीय हुनेछ जसले राज्यको करोडौँ रुपैयाँ अनियमितता हुनबाट जोगिनेछ ।”

मन्त्रालयले औषधि परामर्श परिषद्को परामर्श वा औषधि सल्लाहकार समितिको सल्लाहसुझावमा निर्देशिका तयार पारेको थियो । “स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्दा कस्तो उपकरणलाई कतिपर्छ रु गुणस्तर के हुनुपर्ने हो, अन्तर्राष्ट्रिय मापदण्ड के छ, खरिद गर्ने निकाय के कस्तो हुनुपर्ने हो भन्ने व्यवस्था नहँुदा सामग्रीको गुणस्तर र त्यसलाई तिर्ने रकममा सन्तुलन भइरहेको थिएन”, मन्त्री थापाले भने ।

निर्देशिकाले निकासी तथा पैठारी गर्ने सरकारी काम कारबाही छिटो छरितो र मितव्ययी हुने उनको भनाइ छ । निर्देशिकामा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको गुणस्तर रहे नरहेको सम्बन्धमा उद्योग मन्त्रालयअन्तर्गतको नाप तौल तथा गुणस्तर विभाग, राष्ट्रिय औषधि प्रयोगशाला, जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गर्नुपर्ने उलेल्ख गरिएको छ ।

प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डलाई आधार मानिने छ । त्यस्तो मापदण्ड नभएको अवस्थामा प्रचलित अन्तर्राष्ट्रिय मान्यता समेतलाई आधार मानी प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको राष्ट्रिय स्तर निर्धारण गरिनेछ । राष्ट्रिय स्तर निर्धारण गर्दा मानव तथा पशु स्वास्थ्यमा पर्ने असर तथा जोखिम समेतलाई ध्यानमा राख्नुपर्ने निर्देशिकाले निर्देश गरेको छ ।

राष्ट्रिय स्तर बमोजिम गुणस्तर कायम नभएको प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरण नेपालभित्र उत्पादन वा पैठारी गर्न पाइने छैन ।

मन्त्रालयले कुनै पनि मुलुकमा एकपटक प्रयोग भइसकेका तथा पुराना प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरण नेपालभित्र बिक्री वितरण तथा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

अरु ठाउँमा प्रयोग भइसकेका कतिपय पुराना उपकरण नेपालमा पुनःप्रयोग गर्ने, मर्मत गरिएको वा पुनःनिर्मित सामग्री पनि नेपालमा ल्याउने प्रवृत्तिलाई निर्देशिकाले निरुत्साहित र नियन्त्रण गर्ने बताइएको छ ।

अबदेखि उपकरण उत्पादन गर्न उद्योग स्थापना गर्न वा त्यस्तो सामग्री तथा उपकरणको निकासी पैठारी गर्नको लागि औषधि व्यवस्था विभागबाट सिफारिसपत्र लिई नेपालमै दर्ता भएको हुनुपर्नेछ ।

सामग्री तथा उपकरणको खरिद, गुणस्तर, मूल्य, कारोबार गर्ने निकायलगायतको अनुगमन गर्ने जिम्मा औषधि व्यवस्था विभागलाई दिइएको छ ।

प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण भन्नाले मानिस वा पशुपक्षीको स्वास्थ्यसम्बन्धी समस्याको निदान, उपचार वा रोकथाम गर्ने सम्पूर्ण सामग्री पर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी सौन्दर्य प्रशाधन, विकीरण, स्वास्थ्यवद्र्धक प्रयोजनका लागि प्रयोग हुने साधन, औजार, यान्त्रिक सामग्री, मेडिकल उपकरण, प्रत्यारोपण यन्त्र, मापन यन्त्र, गर्भ निरोधक साधन वा वस्तु पनि प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणमा पर्दछन् ।

निर्देशिका पालना नगर्ने संस्था तथा व्यक्तिलाई औषधि ऐन, खरिद ऐनलगायतका विभिन्न ऐन कानुनअनुसार कारबाही हुने व्यवस्था मन्त्रालयले कायम राखेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *