क्यान्सर पीडित शाहीलाई आर्थिक सहयोग

भीमदत्तनगर, २६ वैशाख । कञ्चनपुरको झलारीका क्यान्सर पीडित जनक शाहीलाई कञ्चनपुर निर्माण व्यवसायी सङ्घले आर्थिक सहयोग गरेको छ ।

कम्मरको बोन (हाड) क्यान्सरबाट पीडित युवा सङ्घ नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहेका शाहीलाई उपचार गर्न सङ्घले रु तीन लाख ७० हजार प्रदान गरेको छ ।

कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्रबहादुर चन्दले शाहीको उपचारका लागि सङ्घका तर्फबाट आर्थिक सहयोग गरेको बताए ।

सैँतिस वर्षीय शाही हाल भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत छन् । सङ्घका तर्फबाट अध्यक्ष चन्दले सोमबार शाहीका भाइ धर्म शाहीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

क्यान्सर पीडित शाही कञ्चनपुर निर्माण व्यवसायी सङ्घका समेत सदस्य हुन् । शाहीका आफन्तले पीडितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।

केही दिनअघि झलारीको स्थानीय क्लबले समेत शाहीको उपचारका लागि रु पाँच लाख सङ्कलन गरेर प्रदान गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *