‘क्याथ ल्याब’ सेवा सञ्चालनमा

1.2k
Shares

बुटवल, २५ वैशाख । मुटु रोगीका लागि अत्यावश्यक ‘क्याथ ल्याब’ सेवा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा सुरु भएको छ ।

विगत १५ दिनदेखि सो सेवा सञ्चालन आए पनि आज मात्र त्यसको औपचारिकता दिएको सो अस्पतालले जनाएको छ ।

सो सेवाको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले यस क्षेत्रका हजाराँै बिरामीलाई छोटो अवधिमै स्तरीय सेवा प्रदान गर्नु र अतिविपन्न तथा गरिब बिरामीलाई निःशुल्क उपचार सेवा दिएर राज्यले गर्नुपर्ने दायित्व पूरा गरेकोप्रति अस्पताललाई धन्यवाद दिए।

हरेक वर्ष सेवा बिस्तार हुँदै जाँदा अस्पताल साँघुरो भएको बताउँदै उनले यसलाई यस क्षेत्रकै नमूना अस्पतालको रुपमा विकास गर्न सम्बन्धीत पक्षलाई आग्रह गरे ।

अस्पतालका अध्यक्ष एजाज आलमले गङ्गालाल हृदयरोग केन्द्रले लिँदै आएको शुल्कअनुरुप नै यो मुटु अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आएको बताउँदै रु पाँच हजार लाग्ने भेन्टिलेटर शुल्कमा रु चार हजार र रु दुई हजार ५०० शुल्क लाग्ने सिसियुको रु दुई हजार कायम गरिएको जानकारी दिए।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समीर गौतमले क्याथ ल्याब सेवा सुरु हुनु मात्र मुटुको पूर्ण उपचार नभएको भन्दै जग्गाप्राप्तीसँगै आफ्नै भवन र मुटुको सम्पूर्ण उपचार दिनेगरी सेवा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताए ।

रोटरी डिस्टिक ३२९२ का नोमिनी गभर्नर चिन्तामणि भट्टराई, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मी, नेकपा (एमाले)का केन्द्रीय सदस्य लीला गिरी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव शर्मा, स्वास्थ्य तथा चिकित्साशास्त्र व्यवस्थापन विभागका डा रामराज पन्थी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण मास्के लगायतले अस्पताल र त्यसले प्रदान गर्ने सेवाका विविध पक्षमाथि प्रकाश पारे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *