यी हुन् जन्मेको दुई बर्ष देखि नै बाँधिएका नौ बर्षीय बालक

(राजेन्द्रप्रसाद पनेरु)कञ्चनपुर, २२ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ९ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले २ वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।

“जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौँ”, रक्किकी बज्यै हिरादेवी सुनारले भनिन्, “पहिले आमा, बुबा भनेर बोल्थ्यो, हाल बोल्नसमेत नसक्ने अवस्थामा छ ।” घरको आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगेपनि ठीक हुन नसकेको उनले बताइन् ।

एक कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएको सुनार परिवारसँग कमाई खाने जग्गा नहँुदा घरका महिलाले दैनिक दाउरा बिक्री गरी साँझ–बिहानको छाक टार्दै आएका छन् ।

रक्कीका बुबा रमेश कहिलेकाहीँ मजदुरी गर्न भारततर्फ जाने गरेका छन् । “दाउरा बिक्री गरेको पैसाले खानलाई त पुग्दैन”, हिरादेवीले भने, “उपचार खर्च गर्नका लागि पैसा चाहिन्छ त्यो हामीसँग छैन ।” जथाभावी दिसापिसाब गर्ने भएकाले रक्कीलाई परिवारजनले खानपिनमा पनि ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ ।

“कुपोषणका कारण आँखा भित्र पसेका छन्, हातखुट्टा पूरै सुकेका छन् । हाड र छाला मात्रै बाँकी छ”, समाजसेवी कमल विकले भने, “चाँडै उपचार नपाए ज्यान जाने खतरासमेत छ ।”

बन्धनमुक्त गरी उपचार गरिदिने दाताको खोजीमा रहेको उनले बताए । “परिवारको आर्थिक अवस्था दयनीय भएकाले दाताले सहयोग जुटाए ९ वर्षीय बालकको ज्यान बच्ने थियो”, उनले भने । राम्रो अस्पतालमा उपचार पाए उनी ठीक हुने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैको हातेमालो जरुरी रहेको उनको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *