प्रसूति सहितको सेवा दिन नयाँ स्वास्थ्य चौकी भवन

झापा, २० वैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । रु एक करोड ३० लाख २९ हजारको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटा बताए ।

नवनिर्मित भवनबाट अब प्रसूतिसहितका सेवा प्रदान गरिने बताइएको छ । स्वास्थ्य चौकीको भवन अपाङ्ग मैत्री बनाइएको छ । स्वास्थ्य चौकीबाटै प्रसूतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका सेवाग्राही सबैभन्दा बढी लाभान्वित हुने बताइएको छ ।

दाताले सात कट्ठा जमिन उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण गरिएको अहेव सापकोटाले बताए । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामअन्तर्गतको फिल्ड कार्यालय, झापाका इन्जिनियर सुमनकुमार मिश्रले मङ्गलबार भवन हस्तान्तरण गरेसँगै स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा सुरु गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *