‘मेरो वर्षः म स्वस्थ’ अभियानको कार्यक्रम २१ वैशाखमा

काठमाडौँ, १६वैशाख ।  नयाँ बर्षको दिन देखि सुरु भएको ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको विशेष कार्यक्रम २१ बैशाखमा पुन हुने भएको छ ।

अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले २१ बैशाखमा पुन कार्यक्रम गर्न लागिएको हो । यो दिन कार्यक्रम देशव्यापी रुपमा हुने बताइएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले शुक्रबार देशभरका जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र जारी गर्दै अभियानबारे कार्यक्रम गर्न निर्देशन दिएको छ ।

विसं २०७४ ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानका रुपमा मनाउने घोषणा गर्दै वैशाख १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशरथ रङ्गशालाबाट यसको शुभारम्भ गरेका थिए ।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने योजनानुरुप जिल्लालाई परिपत्र गरिएको सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए ।

नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्य प्रतिकूल पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको पहिचान गरी उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास मन्त्रालयको छ ।

ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको अध्ययन छ ।

अभियानअन्तर्गत नयाँ वर्षमा आफ्नो स्वास्थ्यको हेरचाह गर्न “म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छु” भन्ने प्रतिबद्धता गर्न सरकारले जनतासँग आग्रह गरेको छ ।

वर्षभरि हुने कार्यक्रम अन्य सम्बन्धित क्षेत्र विद्यालय, उद्योगलगायतसँग पनि सहकार्य गरिनेछ । कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *