कञ्चनपुरमा औलो रोगका बिरामी घट्दै

कञ्चनपुर, १६ वैशाख । लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् ।

औलोका बिरामीको सङ्ख्या प्रतिवर्ष घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीले भने, “सरकारी लक्ष्य अगावै कञ्चनपुरलाई औलो निवारण जिल्ला घोषणा गर्छौ ।”

उनका अनुसार यहाँ सन् २०१६ देखि सन २०१७ को हालसम्म रगतको नमुना लिइएका १३ हजार ८७५ जनामध्ये ६५ जना औलोका बिरामी फेला परेका छन् । औलो रोगको पुष्टि भएका ६५ जनामध्ये ४८ जना जिल्ला बाहिरका र जिल्लाका १७ जनामा मात्रै औलो रोग देखापरेको अधिकृत जोशीले बताए ।

कञ्चनपुर औलो प्रभावित २५ जिल्ला मध्ये औलोको दोश्रो उच्च जोखिममा पर्दछ ।  यहाँ बसोवास गर्ने बासिन्दामा औलोको बढी जोखिम नरहेपनि भारतमा लामो समय काम गरेर फर्कने अधिकांसमा औलोको जोखिम बढ्दो रुपमा रहेको पाईएको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा सन् २०११ मा २६०, सन् २०१२ मा ७१ ,सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ७५ जना औलोका बिरामी फेला परेका थिए ।

कञ्चनपुरमा सन् १९९५ देखि औलो निवारणका लागि कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुदै आएका छन । कञ्चनपुरलाई सन् २०२६ भित्र औलो निवारण घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘सदाका लागि औलो अन्त्य गरौं’ भन्ने नारा सहित जनचेतनामूलक कार्यक्रमका साथ आज कञ्चनपुरमा विश्व औलो दिवश मनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *