मिर्गौला रोगीको उपचारका लागि रु २० लाख सहयोग

म्याग्दी, १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् ।

चन्दा सहयोग जुटाएर पुनको मिर्गौला प्रत्यारोपण गरिएको कोरियामा आर्थिक सङ्कलन अभियानको संयोजन गरेका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)का सहकोषाध्यक्ष ओमनारायण जुक्जालीले जानकारी दिए ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका पुनलाई केही दिनअघि आमाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सङ्कलित रकम पुनका आफन्तलाई हस्तान्तरण गरिएको जुक्जालीले बताए।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि बेलायत, दक्षिण कोरिया, हङकङ, बेल्जियम, पोर्चुगल, साउदी अरब, कतार, जापानलगायत विश्वका विभिन्न देश तथा बेनी, काठमाडौँ, पोखरा र गाउँमै रहेका बिमका बासिन्दाले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *