सरकारद्धारा औलो निन्त्रणका लागि २ लाख बढी झुल वितरण

काठमाडौँ, १२ बैशाख । सरकारले चालु आर्थिक बर्षमा औलो प्रभावित ३१ जिल्लामा सवा दुई लाख भन्दा बढी थान झुल वितरण गरेको जनाएको छ । लामखुट्टेको टोकाईबाट बच्नका लागि विभिन्न दातृ निकायको सहयोगमा प्राप्त झुल वितरण गरेको जनाएको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा किरणराज अवस्थीले यसवर्ष उच्च जोखिमयुक्त जिल्लाहरु कन्चनपुर डडेल्धुरा, कैलाली, बाँके, धनुषा र सिन्धुलीमा १ लाख ८९ थान झुल वितरण भएको र कम जोखिमयुक्त अरु २५ जिल्लामा ४६ हजार ३०० थान झुल वितरण गरेको जनाएको छ ।कम जोखिमयुक्त जिल्लामा गर्भवती जाँच गराउन आउने सुत्केरीहरुलाई झुल दिने गरिएको छ ।

सन् २०२५ सम्म नेपाललाई औलो मुक्त देश बनाउने अभियान अनुरुप विभिन्न अभियान चालेको नेपाले सन २०१८ सम्ममा स्थानीय रोगीको संख्या हालको भन्दा ९० प्रतिशतले घटाउने र स्थानीय औलो संक्रमण भएका गाविसहरुको संख्यामा ७० प्रतिशतले घटाउने योजना अघि सारेको छ ।

नेपालमा पुरानो संरचना अनुसारको ५४ गाविस उच्च जोखिम र २०१ वटा गाविस मध्यम जोखिममा रहेका छन् ।
त्यस्तै ९ लाख ८५ हजार ६३६ जना उच्च जोखिम र २६ लाख ६० हजार ६९२ जना मध्यम जोखिममा रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

यसैबीच औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा राजेन्द्र पन्तले औलो नियन्त्रणका लागि नेपालले गरेको प्रतिवद्धता पुरा हुने दिशामा अघि बढिरहेको भन्दै यसलाई थप सफल बनाउन सबैको सहयोगको आवश्यकता भएको बताए । उनले जोखिमयुक्त क्षेत्रमा रहने व्यक्तिले संका लाग्नासाथ औलो परीक्षण गर्नुपर्ने औल्याए ।

विश्व स्वास्थ्य संगठनले यसबर्ष औलो दिवसको नारा सदाका लागि औलो अन्त्य गरौँ भन्ने तय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *