मोरङमा औलो रोगीको सङ्ख्या घट्दै

विराटनगर, १२ वैशाख । मोरङमा औलो रोगीको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ ।

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कीटनाशक औषधि छर्कने, निःशुल्क औषधि वितरण र औलो रोगविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रमका कारण सो रोगको प्रभाव क्रमिक रुपमा घट्दै गइरहेको हो ।

मोरङमा २०७०/०७१ मा २० जनामा औलो रोग फेलापरेको थियो भने क्रमिक रुपमा घट्दै गत आवमा मात्र सातजना सो रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ ।

यस जिल्लाको मधुमल्लामा तीनजना, कोसी–हरैचा नगरपालिकामा दुईजना र बेलबारी र विराटनगरमा एक–एक जना रोगी फेलापरेको सो कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराए ।

एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीले जानकारी गराए । उनले सो रोगबाट पीडित व्यक्तिको परिवारको सम्पूर्ण सदस्यका साथै आसपासका परिवारका सदस्यको समेत रगत परीक्षण गर्ने गरिन्छ ।

रोग फैलिन नदिने उद्देश्यले प्रभावित क्षेत्रका व्यक्तिको रगत परीक्षणका साथै वर्षमा दुई पटक कीटजन्य औषधि छर्कने गरिएको उनले थपे ।

यसैबीच, विश्व औलो दिवसको अवसरमा आज बिहान जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतना फैलाउने उद्देश्यले विराटनगरमा प्रभातफेरी गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *