विज्ञ भन्छन्, ‘स्वास्थ्यलाई केन्द्रीय तहबाट नै जिम्मा लिनुपर्छ’

काठमाडौँ, १० बैशाख । स्वास्थ्यको जिम्मा केन्द्रीय तहबाटै हुनुपर्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । उनीहरुले संविधानमा उल्लेख गरेजस्तो प्रदेशको भरमा छोडिदिने हो भने अस्तव्यस्त हुने चेतावनी दिएका छन् ।

सरकारी चिकित्सक संघले आइतबार राजधानीमा गरेको संघीयतामा स्वास्थ्य संरचना र चिकित्सक समायोजन तथा भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने विज्ञहरुले स्वास्थ्य सम्वेदनशील क्षेत्र रहेको र यसलाई अरु क्षेत्रजस्तो सामान्यकृत गर्न नहुने धारणा राखे ।

कार्यक्रममा बोल्लै चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले स्वास्थ्य क्षेत्रलाई केन्द्रीय तहबाट हेरिनुपर्ने बताए । ‘रोकथामका उपायहरु प्रान्तिय सरकारले पनि सिकाउँला तर नयाँ नयाँ प्रविधि र उपचारका लागि ठूलो खर्च हुन्छ । दक्ष जनशक्ति चाहिन्छ र उनीहरुलाई त्यो ठाँउमा टिकाउनुपर्छ । त्यसैले अस्पताल तथा चिकित्सकहरुको व्यवस्थापन केन्द्र सरकारले नै गर्नुपर्छ,’ डा गुरुङले भने ।

स्वास्थ्य मन्त्रीका प्राविधिक विज्ञ डा रामेश कोइरालाले स्वास्थ्य क्षेत्र चलाउन सक्ने कुनै पनि प्रान्त सक्षम भई नसकेको भन्दै यस अवस्थामा स्वास्थ्य क्षेत्रको जिम्मा स्थानीय तहले सम्हाल्न नसक्ने ठोकुवा गरे । स्वास्थ्य मन्त्रालयले नयाँ संरचनामा स्वास्थ्यको अवस्था के हुने कस्ता अस्पताल खोल्ने, के के सुविधा दिने ? कति स्वास्थ्यकर्मी चाहिने भन्ने बारेमा खाका बनाएको भन्दै सोही अनुसार संरचना तय गर्नुपर्ने उनको सुझाव थियो ।

स्वास्थ्य मन्त्रालका सहसचिव डा दीपेन्द्ररमण सिंहले नयाँ संरचनामा स्वास्थ्यको अवस्था के हुने भन्ने बारेमा एउटा फरम्याट तयार गरेको भन्दै त्यसमा थप छलफल जरुरी रहेको बताए । उनले गोदानले ठिक समयमा ठिक विषयमा छलफल आयोजना गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा न्याम्सका प्राडा श्रीकृष्ण गिरी, ढुण्डी पौडेल, गोदानका अध्यक्ष दीपेन्द्र पाण्डे लगायतले आआफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *