७८ प्रतिशत बालबालिकाले मात्रै पुरा खोप पाए, खोप नै नपाउनेको संख्या १ प्रतिशत

काठमाडौँ, ९ बैशाख । नेपालमा खोप लिन पर्ने उमेर समूहका बालबालिका मध्ये ७८ प्रतिशतले मात्रै सबै खोप पाएका छन् । अनि १ प्रतिशतले भने अहिलेसम्म एउटा पनि खोप पाएका छैनन् ।

भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस) २०१६ को प्रतिवेदनले यस्तो नतिजा देखाएको हो । नयाँ प्रतिवेदन अनुसार शहरी र पहाडी क्षेत्रमा खोपको कभरेज दर बढी छ ।त्यस्तै हिमाली तथा तराई क्षेत्रमा कभरेज दर कम देखिएको छ । 

नयाँ प्रतिवेदनमा सबै खोप पाउने दर पाँच बर्ष भन्दा घटेको देखाएको छ । पाँच बर्ष अघि अर्थात २०११ को सर्भेक्षणले सबै खोप पाउने दर ८७ प्रतिशत पुगेको देखाएको थियो । यसपटक सो दर घटेर ७८ प्रतिशतमा झरेको छ ।

तर कत्ति पनि खोप नपाउनेको संख्या पाँच बर्ष अघिको तुलनामा सुधार देखिएको छ । पाँच बर्ष अघिको सर्भेक्षणले कुनै पनि खोप नपाउने बालबालिकाको संख्या ३ प्रतिशत रहेको देखाएको थियो । अहिले सो संख्या घटेर १ प्रतिशतमा झरेको छ ।

प्रदेशगत रुपमा हेर्दा सबै खोप कभरेजमा बढीमा ४ नम्बर प्रदेश देखिएको छ । सो प्रदेशमा ९३ प्रतिशत बालबालिकाले सबै खोप पाएको देखिएको छ ।

सबै खोप पाउनेमा सबैभन्दा कम कभरेज भएको प्रदेश २ नम्बर देखिएको छ । त्यहाँ ६५ प्रतिशत बालबालिकाले मात्रै सबै खोप पाएका छन् । बाँकी प्रदेशहरु १ नम्बर प्रदेशमा सबै खोप पाउने बालबालिकाको प्रतिशत ७९ प्रतिशत, ३ नम्बरमा ८५ प्रतिशत, ५ नम्बर प्रदेशमा ७८ प्रतिशत, ६ नम्बरमा ७५ प्रतिशत र ७ नम्बर प्रदेशमा ८३ प्रतिशत छ ।

त्यस्तै कुनै पनि खोप नपाउने बालबालिकाको प्रतिशत बढी भएको प्रदेश पनि २ नम्बर देखिएको छ । सो प्रदेशमा २ प्रतिशत बालबालिको खोप नपाएको सर्भेक्षणले देखाएको छ ।खोप कभरेज कम हुनुमा शिक्षा र गरीवी प्रमुख कारण रहेको सर्भेक्षणमा उल्लेख गरिएको छ । 

नेपालका लागि अमेरिकी अनुसन्धान संस्था आइसिएफको प्राविधिक अनुगमनमा न्यु एराले सो सर्भेक्षण गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *