किन हुन्छ विशेषज्ञ चिकित्सकको खडेरी ? निवेदन दिने तर दुर्गम जान अटेरी

कल्पना पौडेल/ काठमाडौँ, ८ वैशाख । सरकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ । हाल देशभरका १९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमलाल दुवाले धेरै स्वास्थ्य केन्द्रमा चिकित्सक गइसकेको बताए। उनले भने, “चालु आवमा मन्त्रालयले मेडिकल अफिसर आठौँ तहमा २०२ र १७९ अस्थायी चिकित्सक नियुक्त गरी स्वास्थ्य केन्द्रमा पठाइसकेको छ । तर विशेषज्ञ चिकित्सक माग गरे जति आउँदैनन् । विशेषज्ञ चिकित्सक नौ तहमा हामीले १५९ जना मागेका थियौँ, १२८ निवेदन प¥यो । त्यसमा पनि अहिलेसम्म ४० जनाले मात्र पत्र बुझी जिल्ला गएका छन् ।”

मन्त्रालयले दुर्गमका सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने लक्ष्यअनुसार विशेषज्ञ चिकित्सक स्थायी ११औँ तह ३३, नौ तहमा ८७ र डेन्टल सर्जन आठौँ तह पाँचजना नियुक्त गरेको छ । हरेक स्वास्थ्य केन्दमा आठौँ तहका चिकित्सक र क्षेत्रीय, अञ्चल र जिल्ला भने आठौँ सोभन्दा माथिका चिकित्सक रहने व्यवस्था सरकारले गरेको छ । सरकारले एउटा स्वास्थ्य केन्द्रमा दुई चिकित्सक पठाउने लक्ष्य राखेको छ ।

छात्रवृत्तिमा पढेका चिकित्सक पनि पठाएको छ । तर अस्थायी दरबन्दीमा माग गरेअनुसार चिकित्सक आउँदैनन् । शाखा अधिकृत दुवाका अनुसार अस्थायीको अवधि एक आव मात्र हुन्छ । त्यसपछि पुनः काम खोज्न समस्या हुने भएकाले धेरै चिकित्सक भएको काम छोडर छोटो समयका लागि अस्थायीमा काम गर्न मान्दैनन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको सबै स्वास्थ्यमा चिकित्सक पु¥याउने, उपकरण र भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विशेष ध्यान दिएको भनाइ छ । मुगु जिल्ला अस्पतालमा स्थायी नियुक्त लिएर पुगेका डा जितेन्द्र कँडेल दुर्गममा आवश्यक स्रोतसाधनको अभाव मुख्य समस्या भएको बताए । उनले भने, “दुर्गममा मुख्य समस्या उपकरणको हो । आएका उपकरण पनि कतिपय प्रयोग नै नभएर स्टोरमा थन्किएको अवस्थामा छ । चाहिने चीजको मतलब नै धेरै परिवर्तन हुन नसकेको हो । दुर्गममा बाटोघाटो, पानी, बिजुली सबैको अभाव छ । दुर्गममा सोचभन्दा दयनीय स्थिति छ ।”

यसै वर्ष नियुक्ति लिएर जिल्ला पुगेका चिकित्सक मुख्यतयाः गर्भवतीका लागि चिकित्सक नहुँदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाएका छन् । केशरापुर प्राथमिक स्वास्थ्य केन्द्र बैतडीमा गत फागनुमा नियुक्ति लिएर पुग्नुभएका डा जीवन कार्कीले स्वास्थ्य संस्थामा बत्ती नभएकाले उपकरण ल्याएर पनि प्रयोगमा ल्याउन गाह्रो हुने बताए। उनले भने, “दुर्गममा चिकित्सक आउन नमान्नुको मुख्य कारण उपकरण, स्रोतसाधन नभएरै हो । स्वास्थ्यसंस्थामा पनि छ वर्षपछि म आएको हुँ । यहाँ बिरामीको उपचार गर्न नसक्ने भए रिफर गर्न साधन छैन । एम्बुलेन्स नहुदाँ अझ धेरै समस्या छ । जसले गर्भवतिलाई धेरै गाह्रो भएको छ ।”

‘पहिला चिकित्सक बन्नुको उद्देश्य असह्य बिरामीलाई उपचार गर्नु वा समाज सेवा गर्नु भन्ने थियो, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले भने, ‘अहिले समय फेरिएको छ, अब चिकित्सकको उद्देश्य पनि विस्तार भएको छ । पढ्दा लाग्ने खर्चदेखि सोही अनुसारको जीवनयापनलगायत विषयले निःस्वार्थ सेवाभन्दा पनि आर्थिक लाभ पनि यसैसँग जोडिएको छ ।’

सरकारले हरेक वर्ष दुई सयको हाराहारीमा छात्रवृत्तिका एमबिबिएस चिकित्सक उत्पादन गर्छ भने निजी लगानीमा त करिब दुई हजार जति चिकित्सक उत्पादन हुन्छन् । सल्लाहकार पौडेलले स्वास्थ्य केन्द्रमा उपकरण पु¥याउनका लागि मन्त्रालयले तत्कालका लागि रु ९६ करोड छुट्याएर उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।

मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्वताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण पु¥याउन रकम छुट्याएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *