नुवाकोटको गेर्खुटारमा केडीसीको स्वास्थ्य शिविर

काठमाडौँ, ६ बैशाख । बसुन्धरास्थिति केडीसी अस्पतालले नुवाकोटको गेर्खुटारमा तीन दिने निशुल्क स्वास्थ्य शिविर राखेको छ ।

रोटरीक्लव अफ काठमाडाँै नर्थसंगको सहकार्य र रोटरी क्लव अफ म्याथ्युज एनसी युएसएको सहयोगमा गत आइतबार देखि सुरु भएको स्वास्थ्य शिविरमा ४ सय बढीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्राय डेन्टल शिविर गर्ने केडीसीले गेर्खुटारको शिविरमा मेडिकल टिम समेत लगि डेन्टल सहित जनरल हेल्थ चेकअप समेत गरेको थियो ।
केडीसीका डा स्मिता ढकालका अनुसार शिविरका लागि रोटरीक्लव अफ म्याथ्युज एनसी युएसएबाट आएका दन्त विशेषज्ञ सहित ११ जनाको टीमले दन्त परीक्षण र उपचारको नेतृत्व गरेको थियो । सोही टिममा केडीसीबाट थप १२ जना चिकित्सक तथा नर्स तथा प्यारामेडिक्सहरु थपिएका थिए ।

‘कुल २३ जनाको टीम थियो । त्यसमा डेन्टल तर्फ डेन्टल सर्जन, डेन्टल हाइजीनीष्ट र मेडिकल तर्फ जनरल फिजिसियन, गाइने, अर्थोपेडिक्स, प्याडियार्टिक, फार्मासिस्ट, स्टाफनर्स र गाइनेकोलोजी नर्सहरु थियौँ ,’ डा. ढकालले बताइन् ।

केडीसीको अत्याधुनिक मोवाइल डेन्टल भ्यान सहित पुगेको टोलीले दन्त परीक्षण, उपचार तथा मुख तथा दन्त स्वास्थ्य शिक्षा उपलव्ध गराएको थियो । सो क्रममा दाँत तथा गिँजाको परीक्षण गर्ने, दाँत फुकाल्ने , सफा गर्ने, ब्रस गर्न सिकाउने तथा मुख तथा दाँत स्वास्थ्य राख्ने उपायबारे जानकारी दिइएको थियो । त्यस्तै मेडिकल तर्फ साधारण स्वास्थ्य परीक्षण, स्त्रीरोग परीक्षण, हाडजोर्नी, बालरोग, तथा जनरल हेल्थ चेकअप गरिएको थियो । शिविरमा हात धुने तरिकाबारे समेत जानकारी गराइएको थियो ।

डा. ढकालले शिविरमा आएका मध्ये २ सय बढीलाई त्यहि परीक्षण तथा उपचार गरेको बताइन । केही जटिल अवस्थाका विरामीहरुलाई मात्रै अन्यत्रका अस्पतालमा रिफर गरिएको जानकारी दिइन् । त्यस्तै मेडिकल तर्फ पनि अधिकांशको उपचार शिविरमै सम्भव भएको बताइन ।

ओम माने पव्लिक स्कुलमा राखिएको सो स्वास्थ्य शिविरलाई स्थानीय तहमा सूर्योदय सामाजिक क्लवले संयोजन गरेको थियो । शिविरका लागि आएका विदेशी चिकित्सकहरुले परीक्षण तथा उपचारमा सक्रियताका साथ सहभागीता जनाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *