सरकारसंग खेलाडीहरुको माग ‘छुट्टै अस्पताल चाहियो’

काठमाडौँ, ५ बैशाख । खेलाडीहरुले आफूहरको उपचारका लागि छुट्टै अस्पताल खोल्न सरकारसंग माग गरेका छन् । मंगलबार स्वास्थ्य मन्त्री गगन थापालाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा सेना प्रहरी निजामती कर्मचारीहरुको नाममा सरकारले छुट्टै अस्पताल खोलिदिएको भन्दै अन्तराष्ट्रिय जगतमा देशको झण्डा फहराउने खेलाडीहरुका लागि पनि त्यस्तै खालको अस्पताल खोलिदिन आग्रह गरेका हुन् । ‘यसले खेल क्षेत्रमा जीवन व्यथित गरेको सम्पूर्ण खेलाडीको सम्मान हुने थियो,’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।

११० जना खेलाडीको उपचार निशुल्क हुनुपर्ने
स्वास्थ्य मन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता १०२ जना र एशियन खेलकुदमा पदक विजेता ८ जना गरि ११० जना खेलाडीको उपचार निशुल्क गर्न माग गरिएको छ ।

त्यस्तै साग खेलकुदमा रजत पदक विजेता र ओलम्पीक खेलकुदमा सहभागी २३१ जना खेलाडीलाई उपचारमा ८० प्रतिशत छुट दिन माग गरिएको छ । त्यसैगरी सागमा कास्यपदक विजेता ४४२ जना खेलाडीलाई ७० प्रतिशत छुट र राष्ट्रिय खेलाडीलाई उपचारमा ५० प्रतिशत छुट हुनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन खेलाडी सुविधा सुझाव कार्यदलका संयोजक उपेन्द्रकुमार पौडेल, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट, नेपाली फूटवल टीमका पूर्वकप्तान राजुकाजी शाक्य, हरि खड्का लगायतका खेलाडीहरुको सहभागीता थियो ।

ज्ञापनपत्र बुझेपछि मन्त्री थापाले खेलाडीहरुको मागका विषयमा आफू गम्भीर रहेको भन्दै यसलाई टुंगोमा पुरयाउन मन्त्रालयको तर्फबाट छुट्टै कार्यदल गठन गर्ने र त्यसको सुझावलाई समेत समेटेर काम अघि बढाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *