क्यान्सर रोगको उपचार अनुदान पाँच लाख पुर्‍याउने तयारी

- नेपाली हेल्थ


भक्तपुर, ४ वैशाख । स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताए ।

सरकारले गरीव तथा विपन्न विरामीको उपचारमा अहिले एक लाख रुपैयाँ दिँदै आएको छ ।

“क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पु¥याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छौँ, अर्थमन्त्रालयले यसलाई स्वीकृत ग¥यो भने यो सहयोग बिरामीले पाउनेछन् ।” स्वास्थ्य मन्त्री थापाले भने ।

सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उनले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताए ।

“कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा सुविधालाई प्रभावकारी र सुदृढ गर्न काम गरिरहेका छौँ”, उनले अगाडी थपे “औषधि पनि सस्तो गर्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक सङ्कटबाट मुक्त भई गरीवी बढने अवस्था रोक्न सकिन्छ ।”

उपचारका लागि अब काठमाडौँ नै धाउनुपर्ने अवस्था नआओस् भनेर सरकारले जिल्ला जिल्लाका अस्पतालको सेवा, सुविधा र गुणस्तरीयतामा वृद्धि गर्न लागेको बताए । गंगालाल अस्पताल काठमाडौँमा छ तर गङ्गालालको सेवा भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दिने गरी सेवा सुरु गरेको छौँ जनकपुर अञ्चल अस्पतालबाट पनि यो सेवाका लागि प्रारम्भिक काम गरेका छौँ, क्यान्सर रोगको सेवा दिन सुशील कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगन्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छौँ , पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छौँ ।” उनले भने ।

सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको छ भन्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्ने, बलियो बनाउने र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार रु पाँच लाखभन्दा कममै हुनसक्ने दावी गरे ।

भक्तपुर क्यान्सर अस्पतालका लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु चार करोड सहयोग पु¥याउने काठमाडौँ बागबजार निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गर्नुभएको गरेका थिए ।

रु चार करोड ८० लाखको लागतमा निर्माण भएको भवनका लागि थप रु ८० लाख भने विभिन्न दाताबाट सङ्कलन गरिएको थियो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाशराज न्यौपानेले १५ शै्यया र १५ कर्मचारीबाट सुरु भएको यो अस्पताल अहिले १५० शै्ययामा विस्तार भएको र २०० कर्मचारीले एकवर्षमा ६० हजारसम्म बिरामीलाई सेवा दिँदै आएको बताए ।

अहिले पनि ४० प्रतिशत विपन्न बिरामीलाई सेवा दिँदै आएको यस अस्पतालमा आवश्यक केही पूर्वाधारको विकास र उपकरणका लागि सरकारले सहयोग गरे क्यान्सरको सम्पूर्ण उपचार यहीबाट गर्न सकिने उनले बताए ।
अनुदान बृद्धि र प्रविधिमा सहयोग भए सरकारले तोकेको शुल्कभन्दा पनि कम शुल्कमा सेवा सकिने मेडिकल डाइरेक्टर डा न्यौपानेले दाबी गरे । रासस


Facebook Comment


थप समाचार