विपन्नको सहारा बन्यो अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृह


रुपन्देही, ३ वैशाख । लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सञ्चालनमा रहेको पोषण पुनःस्थापना गृह विपन्नको सहारा बनेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा र नेपाल युथ फाउन्डेसनको संयुक्त लगानीमा लुम्बिनी अञ्चल अस्पताल परिसरमा सञ्चालित गृहमा लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट आएका पोष्ट्रिक आहार कम भएका बालबालिकाका लागि राम्रो साहार बनेको छ ।

तीन वर्षअघि स्थापना भएको पोषण पुनःस्थापना गृहमा पोषण कम भएका बच्चा तथा आमाहरुलाई पोषणगृहमा राखेर पोषकयुक्त खाना खुवाउने गरिन्छ । पोषण कम भएका बच्चाको तौल कम हुने र अन्य विकास पनि कम हुने भएकाले चिकित्सकले पोषण पुनःस्थापना गृहमा पठाउने गर्छन् ।

निम्न आर्थिकस्तर र कुपोषण भएका १४ वर्षमुनिका बालबालिकालाई पोषण केन्द्रमा भर्ना लिइन्छ । केन्द्रकी प्रमुख सुजता बोझाका अनुसार यहाँ बालबालिका ल्याउने आमालाई पोषणको विषयमा जानकारीसमेत गराउने गरिएको छ ।

पुनःस्थापना केन्द्रमा अहिले सातजना बालबालिकाले पोषकयुक्त खाना खाइरहेका छन् । बच्चासँगै आमालाई पनि गृहमा नै राखेर खाने बस्ने व्यवस्था गरिएको छ । दशजना बच्चा तथा आमालाई राख्न सक्ने क्षमता गृहको रहेको छ ।

तीन वर्षको अवधिमा २५१ जना बालबालिकाले पोषण पूरा गरी घर फर्किएका बोझाको भनाइ छ । सामान्यतया १५ दिनमात्रै राख्ने नियम छ । तर अत्यन्त कमजोर शारीरिक अवस्था भएकाहरु तीन÷चार महिनासम्म पनि बसेका छन् ।

छ महिनामुनिका बच्चालाई भर्ना नगर्ने भए पनि विपन्नताका कारण सुत्केरी महिला पनि पोषण केन्द्रमा बसेका छन् । घरमा आहार खुवाउन सक्ने आर्थिक अवस्था भएकाहरुलाई तालिम दिएर पठाउने गरिए पनि विपन्नलाई त्यही राख्ने गरिएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ का अभिनाश थारु २० महिना भए पनि तौल जम्मा पाँच किलोमात्र भएपछि अहिले गृहमा आएका छन् । सामान्यतः उनको तौल ११ किलोभन्दा माथि हुनुपर्ने थियो । अहिले पोषण कम भएका कारण वृद्धि नभएको परिवारले थाहापाएपछि पोषणगृहमा राखिएको हो ।

अर्घाखाँची चिदिका गाविसकी राधा कुमाल दुई महिनाअघि घरमै सुत्केरी भइन् । खेतीकिसानी गरेरमात्रै छाक टर्ने भएकाले गर्भवती हुँदा प्रशस्त पौष्टिक आहार पाइनन् । जसको कारण जन्मिएको तेस्रो सन्तान निकै कम तौलको र कमजोर भयो । जन्मिएको दुई महिनामा छोरीको तौल जम्मा साढे एक किलोमात्र भएपछि स्थानीय स्वास्थ चौकीको सल्लाहमा आर्धाखाँचीबाट लुम्बिनी अञ्चल अस्पतालको पोषणगृहमा आएर बसेकी छन् । छोरीको तौल विस्तारै वृद्धि भइरहेको छ ।

प्रमुख बोझाका अनुसार पोषण कम भएर आउनेहरु पहाडी जिल्लाका विकट गाउँ तथा तराईका बालबालिका नै धेरै छन् ।
गैरसरकारी संस्थाले सुरुवात गरे पनि अहिले पोषण महाशाखामार्फत गृह सञ्चालन भइरहेको छ । विसं २०७५ पछि लुम्बिनी अञ्चल अस्पताललाई नै हस्तान्तरण गरिने कार्यक्रम छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *