कास्कीमा स्वास्थ्य विमा : नौ हजारको नाम दर्ता, नौ सयले सेवा

कास्की, २२ चैत। गत पुस १२ देखि जिल्लामा सुरु भएको स्वास्थ्य विमा कार्यक्रममा ९४०८ जनाले नाम दर्ता गराएका छन् । उनीहरु मध्ये ९८८ जनाले विमा बापतको उपचार सेवा लिएका छन् ।

विमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका अनुसार विमा गराएकाहरुलाई चारवटा प्राथमिक स्वास्थ्य केन्द्र सहित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल शिक्षण अस्पताल पोखरा, हिमालय आँखा अस्पताल, सिशुवा अस्पताल, मातृशिशु अस्पताल लगायतका अस्पतालबाट सेवा उपलव्ध गराइएको छ । त्यसबाहेक थप उपचारका लागि काठमाडौँका केन्द्रीय अस्पतालमा समेत रिफर भएर विरामीहरु गएका छन् ।

समिति( विमा कार्यक्रम)का जिल्ला प्रवन्धक कृष्णप्रसाद भट्टराईले कास्कीमा अन्यत्र भन्दा ढिलो कार्यक्रम सुरु भएर पनि धेरै जना सदस्य बनाउन सफल भएको बताए । ‘हामी भन्दा केही संख्याले इलाम अगाडी छ तर अव त्यो पनि पछि पर्दैछ । कास्की अवको केही समयमै पहिलो हुँदैछ,’ भट्टराईले भने । उनले बीमा कार्यक्रममा अहिले मध्यम बर्गीय जनताहरु आकर्षित भएको बताए ।

‘प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण नहुँदा समस्या’
विमा कार्यक्रमबाट दर्ता भएकाहरुलाई पहिलो विन्दु नजिकको प्राथमिक स्वास्थ्य केन्द्र तोकिएपनि सेवा प्रभावकारी हुन सकेको छैन । केन्द्रमा हुनुपर्ने एक्सरे, युएसजी, इसिजी, सेमी अटो एनालाइजर लगायतका मेसिनहरु नहुँदा समस्या भएको हो ।

‘अहिले हामीसंग डाक्टरहरु हुनुहुन्छ तर सामान्य उपकरण नहुँदा उपचार सेवा प्रभावित भएको छ । मान्छेले पैसा तिरेपछि तत्काल भनिएको सेवा खोज्दो रहेछ तर त्यो नपाउँदा सम्झाउन समस्या परेको छ,’ जिल्ला प्रवन्धक भट्टराईले भने ।

उनले सेवा दिने स्वास्थ्य संस्थाहरुले प्रयाप्त औषधि नराखेका कारण विरामीले बाहिर औषधि किन्न पर्दा समेत सेवा प्रभावमा समस्या भएको बताए ।

कास्कीका दर्ता अधिकृत कृष्णचन्द्र सिंहले झण्डै पाँच लाख जनसंख्या भएको कास्कीमा १ लाख २५ हजार ४५९ घर धुरी रहेको बताए । उनले देशका ८ जिल्लामा सुरु भएको विमा कार्यक्रममा सहभागी हुनेको संख्या कास्कीमा दोस्रो स्थान रहेको उल्लेख गरे ।

गरीवी परिचय पत्र नहुँदा समस्या
बिमाको पम्लेटमा गरीवी परिचयपत्रको आधारमा दर्ताका लागि समेत सहुलियत उपलव्ध गराउने कुरा उल्लेख हुँदा त्यसको असर नाम दर्ता गर्न फिल्डमा खटिने दर्ता सहयोगीहरुलाई परेको छ ।

‘सुकुम्बासी टोलमा गयो हामीलाई निशुल्क दर्ता हुन्छ भनेको छ रे तपाईहरु पैसा माग्नु हुन्छ भनेर प्रश्न गर्छन्,’ दर्ता सहयोगी सावित्री सापकोटाले भनिन् । उनले भनेजति औषधि सेवा दिने स्वास्थ्य संस्थामा नहुँदा समेत समस्या भएको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *