अटिजमबारे जनचेतना आवश्यक

काठमाडौँ, १९ चैत । आफ्ना बालबालिकाको शारिरीक र मानसिक विकास राम्ररी नभएको तथ्य धेरै अभिभावकले समयमै बुझ्न नसक्दा अटिजम रोगपीडितले भने जस्तो स्याहार पाउन सकेका छैनन् ।

साधारण बच्चाभन्दा अटिजम भएका बालबालिकालाई अलि फरक तरिकाले व्यवहार गर्नुपर्ने भए पनि यो रोगबारे धेरै अभिभावक अनभिज्ञ हुँदा उनीहरुलाई उपचार वा अन्य थेरापीमा ल्याउन सकेका छैनन् ।

बच्चामा बुझ्न, सीप सिक्न र प्रयोग गर्न कठिनाइ र दोहो¥याएर गर्ने व्यावहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नभएमा उनीहरुलाई अटिजम भएको हुनसक्छ ।

अटिजम भएका बच्चाका अभिभावकद्वारा स्थापित अटिजम केयर नेपाल समाजका अध्यक्ष डा सुनिता मलेकु अमात्य अटिजम विकासात्मक अपाङ्गता भएको र यसको कुनै मेडिकल उपचार नभएकाले विशेष थेरापी नै उपचार विधि भएको बताउछिन्।

अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी भने देखिएको उनको भनाइ छ ।

तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको सुझाव छ ।

डा अमात्य भन्छिन् – “अटिजम रोगीहरु सामाजिक रुपमा सामान्य जीवन बिताउन सक्दैनन् । उनीहरुलाई विशेषखालको स्याहार र व्यवहारको खाँचो पर्दछ ।”

अजिटम केयर नेपाल समाज यस्तै समस्या भएका बालबालिकाका अभिभावकद्वारा सञ्चालित एक क्रियाशील संस्था हो । यसले नेपालमा अटिजम भएका व्यक्ति र उनका अभिभावकलाई यसबारेका तालिम, थेरापीबारे ज्ञान र जानकारी प्रदान गर्दै आएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले अटिजम जस्तै अन्य मनोसामाजिक समस्या भएका बिरामी अझै पनि पहिचान भई उपचारमा आउन नसक्नुमा सरकारको ध्यान नपुग्नु कारण भएको बताए ।

उनले अटिजमबाट प्रभावित भएको व्यक्तिहरुको सर्वे गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे ।

संस्थामा महिनामा ६० देखि ८० जनासम्म बालिबालिका थेरापीका लागि आउने गरेको अध्यक्ष डा अमात्यले बताइन् ।

हालसम्म अटिजम रोकथामका लागि कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै निदान नभए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल ९सिडिसी०को तथ्याङ्कअनुसार विश्वमा जन्मिने हरेक ६८ जनामध्ये एकजना अटिजमबाट ग्रसित हुन्छन् । अटिजमको कुनै आधिकारिक तथ्याङ्क नभए पनि नेपालमा सबै उमेर समूहका गरी तीन लाख अटिजम भएका व्यक्ति हुनसक्ने अध्यक्ष डा अमात्य अनुमान गर्छिन् ।
यसै वषैदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्भेक्षण गर्दैछ । यो सर्भेक्षणमा अटिजम पनि समेटिने छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २००८ अप्रिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवस’का रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै संस्थाले सचेतना दिवस मनाउने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *