स्वास्थ्य मन्त्री थापा शिविर स्थलमा, ७७ जनाको शल्यक्रिया

 

रौतहट, ११ चैत। स्वास्थ्य मन्त्री गगन थापाले नेपाली नागरिकलाई आफ्नै मुलुकमा पर्याप्त र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यका साथ आफू लागि परेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अबलोकन पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले पर्याप्त स्वास्थ्य सेवा नभएर नै शिविरमा भिड भएको बताए।

स्वास्थ्य मन्त्री थापाले अस्पतालको सुदृढिकरणको लागि देशैभरी थप कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए।

चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधी र उपकरणहरु गाउँ – गाउँ पठाई सकिएको बताउदै उनले आकस्मिक शल्यक्रिया सहितको सेवा जिल्ला अस्पतालबाट सुरु गराउन लागिएको उल्लेख गरे ।

गत ८ गते देखि सुरु भएको निशुल्क सघन स्वास्थ्य शिबिरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फेस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ ।

शुक्रबार सम्म ४२४९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने ७७ जनाको शल्यक्रिया गरिएको छ ।

शुक्रबार मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका कर्नेल दिपक अधिकारीले बताए। उनका अनुसार शुक्रबार २५ जनाको शल्यक्रिया गरिएको छ ।

सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिएको छ भने शल्यक्रिया बेलुकी १० बजे सम्म पनि हुने गरेको उनले बताए ।

शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु समेत आएका छन् । उनका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।

आगामी १४ गते सोमबार सम्म हुने स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य मन्त्री थापा शिविर स्थलमा, ७७ जनाको शल्यक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *