नि:शुल्क शिविरका लागि रौतहट पुगेको चिकित्सकको टोली आजै देखि उपचारमा व्यस्त

आकस्मिक शल्यक्रिया गर्दै डा बज्राचार्य सहितको टोली

काठमाडौँ, ७ चैत । भोली देखि सुरु हुने नि:शुल्क सघन स्वास्थ्य शिविरका लागि रौतहट पुगेको चिकित्सकहरुको टोलीले आजै आकस्मिक शल्यक्रियामा खटिएको छ । नेपाली सेनाका चिकित्सक  डा. उदय बज्रचार्यको टोलीले सुत्केरी हुन नसकेर छटपटाई रहेकी ३५ बर्षीया सुखीया देवी साहको आकस्मिक सल्यक्रिया गरेको हो ।

‘खासमा हामीले भोलीबाट शिविर सञ्चालन गर्दै थियौँ तर आज एउटा यस्तो केश आयो कि तत्काल शल्यक्रिया नगरे गर्भवती महिला र पेटमा रहेको शिशुको मृत्यु हुने थियो । हामीले तत्कालै गौर अस्पतालको ओटी रुममा आफूसंग रहेको एनेस्थेसिया मेसिन लगायौँ र सिजेरियन गरेर बच्चा निकाल्यौँ ,’  डा. बज्राचार्यले भने ।

लामो समय देखि व्यथा लागेर सुत्केरी हुन् नसकेकी साहको पेटमा रहेको बच्चाले दिसा खाईसकेकाले अवस्था गम्भीर रहेको डा. बज्राचार्यले बताए । ‘निकाल्दा बच्चाको धडकन नै बन्द भईसकेको थियो । तर हामीले ढिलो नगरी सो केश सफल गरायौँ । यदि हामी नपुगेको भएर अन्यत्र रिफर गर्नुपर्ने भएको भए आमा र बच्चाको ज्यानै जान सक्थ्यो ।’

नि:शुल्क सघन सिविरका लागि तयारी पुरा
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा हुने एक हप्ते बृहत निःशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । रौतहटको जिल्ला अस्पताल र व्यारेक फिल्डमा भोली ८ देखि १४ चैत सम्म हुने बृहत स्वास्थ्य शिविरका लागि विषेशज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु, सेनाको ओटी सहितको मोवाइल हस्पिटल, औषधी र उपकरणहरु शिविरस्थलमा पुर्याई सकिएको छ ।

शिविरमा लगिएको मोवाईल ओटीमा हाईड्रोसिल, हर्नीया, पत्थरी, पायल्स, पाठेघर लगायतको शल्यक्रिया गर्नुका साथै अन्य रोगहरुको पनि परीक्षणको व्यवस्था गरिएको छ ।

मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले शिविरमा धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराह, सप्तरी, मकवानपुर, सिन्धुली लगायतका जिल्लाबाट उपचारका लागि आउने अपेक्षा गरिएको बताए ।

शिविरका लागि चिकित्सक, नर्स तथा प्यारामेडिक्स गरी १८ जनाको टोली तयारी अवस्थामा छन् । त्यसमा अधिकांश स्वास्थ्यकर्मी नेपाली सेनाको रहेको टोलीको नेतृत्व गरेका डा बज्राचार्यले बताए । उनले भोली देखि आफूहरुको मोवाईल कन्टेनरमा रहेको ओटीमा सल्यक्रिया सुरु हुने बताए ।

यसरी गरियो आकस्मिक शल्यक्रिया

तस्बिर सौजन्य : डा उदय बज्राचार्य

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *