एमाले नेता अधिकारी स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

काठमाडौँ, २ चैत । नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।
आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराए ।

चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी आज बिहान ११ः३० बजे थाई एअरवेजमार्फत उपचारका लागि बैंकक गएका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उनको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताए । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । “उपचारपछि घरमा आराम गर्नुभएको थियो”, उनले भने,“तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो ।”

अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य गएका छन् । बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव विष्टले जानकारी गराए । ८० वर्षीय अधिकारी सांसदसमेत रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *