१ करोड ८ लाख जनतालाई हात्तीपाईले विरुद्धको औषधि खुवाईदै


काठमाडौँ, ३० फागुन । सरकारले यो वर्ष १ करोड ८ लाख जनतालाई हात्तीपाईले (फाईलेरिया) रोग विरुद्धको औषधि खुवाउने भएको छ । आम औषधि सेवन कार्यक्रम अन्तर्गत जोखिमयुक्त ३० जिल्लामा दुई चरणमा गरेर औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आगामी चैतको ५, ६ र ७ गते २५ जिल्लामा र बाँकी ५ जिल्लामा चैतको १७ र १८ र १९ खुवाइने छ ।

औषधि खुवाउने अभियान अन्तरर्गत जोखिमयुक्त जिल्लाका २ वर्ष माथिका व्यक्तिलाई डीइसी (डाईइथाइल कार्बामाजिन) चक्की र अलबेन्डाजोल चक्की खुवाउन लागेको हो ।

कहाँ कहाँ कहिले खुवाईदैछ औषधि ?
महाशाखाका अनुसार पहिलो चरणमा आगामी चैतको ५,६ र ७ गते भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ जिल्लामा औषधि खुवाइदैछ ।

त्यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कन्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुलामा पनि सोही दिनमा औषधि खुवाइने कार्यक्रम छ ।

महाशाखाले चैतको १७, १८ र १९ गते झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तु जिल्लामा औषधि खुवाउने बताएको छ ।

कस्तो छ तयारी ? 

महाशाखाका निर्देशक डा . भीम आचार्यका अनुसार यसपटक १ करोड ८ लाख १३ हजार ७२६ जना व्यक्तिलाई हात्तीपाईले रोग विरुद्धको औषधि खुवाइदै छ । त्यसका लागि ५४ हजार ६६६ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिनेछ ।

त्यस्तै १० हजार ४४९ जना स्वास्थ्यकर्मी खटिनेछन् । महाशाखाले आम औषधि सेवन कार्य, सर्भिलेन्स कार्य र हाईड्रोशिल अप्रेसन कार्यका लागि भन्दै करीब ४० करोड रकम विनियोजन गरेको जनाएको छ ।

महाशाखाका फोकल पसर्न तुलसी अधिकारी भन्छन्, यसपटक ६० वटा अस्पतालबाट ७ हजार १८३ जनाको हाईड्रशिल अप्रेसन गर्ने लक्ष्य राखिएको छ ।

कस्ता व्यक्तिले खानु हुँदैन औषधि ?
हात्ती पाईले रोग विरुद्धको औषधि दुई बर्ष नपुगेका केटाकेटीहरु, गर्भवती र ७ दिनसम्मका सुत्ेकरी, छारे रोगी तथा सिकिस्त विरामीहरुले खानु हुँदैन ।

यो औषधि खाली पेटमा पनि खानु हुँदैन । अरु सबै व्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरुले भने अनुसार खाना संगै वा खाना पछि खान मिल्छ ।

औषधिले असर गर्छ ?
औषधिको सेवन गरेपछि हात्तीपालेको परिजिवी शरीरमा भएमा कसै कसैमा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, रिगाटा लाग्ने, वाक वाकी लाग्ने जस्ता सामान्य असर हुन सक्दछ । यस्ता असरहरु विना उपचार आफै केही समयमा ठीक भएर जान्छन् । यदि ठीक नभएमा नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *