पुल्चोक इन्जिनियरिङ कलेजका शिक्षक प्राध्यापकलाई प्रोस्टेटबारे प्रवचन

काठमाडौँ, ६ असोज । हामी आफ्नो स्वास्थ्यका बारेमा कति सचेत छौँ ? दैनिक कामको व्यस्तताले गर्नुपर्ने स्वास्थ्य जाँचलाई पर पन्छाउँदै त छैनौँ ? हामी मध्ये धेरैले आफ्नो व्यस्त दैनिकीबाट स्वास्थ्यका लागि समय छुट्याउन सकिरहेका हुँदैनौँ पनि । तर, पुल्चोक इन्जिनियरिङ कलेजका शिक्षक कर्मचारी तथा प्राध्यापकहरुले भने सोमबार दिउसो केही समय आफ्नै स्वास्थ्यका लागि खर्चिए ।
उमेर छिप्पिदै जाँदा पुरुषमा देखिने एक स्वास्थ्य समस्या प्रोस्टेटबारे उनीहरुले विज्ञसंग सुने, बुझे र जिज्ञासा राखे ।
हो, प्रोस्टेट फाउण्डेसन नेपालको आयोजनामा कलेज परिसर भित्रै भएको कार्यक्रममा डा. दीपक रौनियारले उनै पाका हुँदै गएका कर्मचारी, शिक्षक तथा प्राध्यापकलाई त्यहि कुरा सुनाए जो प्रोस्टेटका लक्षण, रोकथाम र उपचारबारेको कुरा थियो ।
‘त्यहाँ कार्यरत कर्मचारी, शिक्षक तथा प्राध्यापकहरुलाई प्रोस्टेटसँग सम्बन्धित समस्या, यसको जोखिम, लक्षण, समयमै परीक्षण तथा उपचारका विषयमा महत्वपूर्ण जानकारी तथा स्वास्थ्य सचेतना प्रदान गरियो,’ डा. रौनियारले भने । उनले कार्यक्रमबाट धेरै सहभागीहरुले महत्वपूर्ण जानकारी पाएको भन्दै खुशी व्यक्त गरेको समेत बताए ।

डा. रौनियारले पछिल्लो समय प्रोस्टेटको समस्या बढ्दो क्रममा रहेको भन्दै दैनिक खानपान र जीवन शैलीमा परिवर्तन गर्न सकेको खण्डमा पनि नियन्त्रणमा आउन सक्ने बताए ।
उनले नियमित जाँचसंगै लक्षणबारे ज्ञान लिन सके समस्या सुरु हुन लाग्दा नै उपचार गर्न सकिने र त्यसले ठूलो समस्या समेत नहुने बताए ।
फाउण्डेसनका संस्थापक समेत रहेका डा. रौनियारले नियमित रुपमा सामुदायिक तथा संस्थागत रुपमा शिविर तथा प्रशिक्षण कार्यक्रम राख्दै आएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



