बैशाख १ देखि मिर्गौला प्रत्यारोपण नि:शुल्क
काठमाडौँ, २६ फागुन । सरकारले १ बैशाख देखि मिर्गौला प्रत्यारोपण निशुल्क गर्ने भएको छ । मिर्गौला प्रत्यारोपण हुने सरकारी अस्पतालबाट प्रत्यारोपण निशुल्क गर्न लागिएको हो । अहिले मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर, बीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौलाको प्रत्यारोपण हुँदै आएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान ललितपुरद्धारा आज आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले १ बैशाख देखि मिर्गौला प्रत्यारोपण निशुल्क हुने घोषणा गरे । उनले सो कार्यका लागि सरकारले आवश्यक रकम अर्थ मन्त्रालयबाट जुगाड गरिसकेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य कर कोषमा थप ५० करोड रकम थपिदैछ । त्यसमध्येको २५ करोड रकम अर्थ मन्त्रालयले पठाइसकेको छ । त्यहि रकमबाट हामी मिर्गौला प्रत्यारोपणका लागि काम अगाडी बढाउँदैछौँ ।’
मन्त्री थापाले मिर्गौला फेल भएकाहरुको उपचारमा सहुलियतका दिन मन्त्रालयले निशुल्क डायलासिसको व्यवस्था गरेको र प्रत्यारोपण पछिको औषधिमा सहुलियत व्यवस्था मिलाउन पनि काम अघि बढीरहेको जानकारी दिए । उनले अंचल अस्पतालबाट डायलासिस सेवा मिलाउन आवश्यक बजेटको व्यवस्था गरिरहेको बताए । ‘प्रत्यारोपण निशुल्कले मात्रै पनि नहुँदो रहेछ त्यसपछि खानुपर्ने औषधिमा पनि निकै खर्च आउँदो रहेछ । त्यसैले अफ्रिका मुलुकमा च्यारिटी गर्दै आएका केही अन्तराष्ट्रिय स्तरका फर्मास्युटिकल्स कम्पनीसंग आग्रह गरेका छौँ । उनीहरु पोजेटिभ देखिएका छन’ उनले भने।
मन्त्री थापाले सरकारले आफ्नो कर्तव्य निर्भाह गर्ने भन्दै जनताले पनि आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिनुपर्ने बताए । जीवनशैली, खानपान आदिका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । त्यसका लागि स्वयं जिम्मेबार हुनुपर्छ । नियमित स्वास्थ्य जाँच, शारीरिक व्यायम आदीमा ध्यान पुरयाउनुपर्छ ।
मन्त्री थापाले नसर्ने रोगको जोखिम कम गर्न पेन प्याकेज कार्यक्रम देशका १ हजार स्वास्थ्य संस्थाबाट अघि बढाइदै गरेको र उपत्यकामा १० वटा स्थानबाट हेल्थ प्रमोशन सेन्टर सुरु गरिएको बताए ।
कार्यक्रममा बोल्दै मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोगको उपचारमा सरकारले धेरै ठूलो सहयोग पुरयाएको बताए । उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने अवस्था मिलाउन सर्वसाधारणसंग आग्रह गरे ।
आरोग्य प्रतिष्ठानका अध्यक्ष आनी छोइङ डोल्माले मिर्गौला रोगको बारेमा जनचेतना आवश्यक भएको बताइन् । सरकारले पछिल्लो समयमा मिर्गौला लगायतका नसर्ने रोगको उपचारमा धेरै सहुलियत दिएको भन्दै आम सर्वसाधारणले पनि रोग लाग्नै नदिन चनाखो हुनुपर्ने बताइन ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारको रुपमा कान्तिपुर दैनिकका अतुल मिश्रलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै मृत्युपश्चात अंगदान गर्न मन्जुरीनामा दिएका मन्त्री थापालाई प्रमाणपत्र दिइएको थियो । सोही अवसरमा मानवअंग प्रत्यारोपण केन्द्रले विरामीका लागि सञ्चालन गर्न ल्याएको निशुल्क बस सेवा समेत सुभारम्भ गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]