उपचारका क्रममा सुत्केरीको मृत्यु, चिकित्सकले लापरबाही गरेको परिवारको आरोप

पर्सा, २२ फागुन । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ ।

नगरदाहा गाविस– ४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो । उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए ।

उनले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै छोरीलाई जन्म दिएको र सालनाल मात्र ननिस्किएका कारण नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित एम्बुलेन्स मार्फत बिहान २ बजे उपक्षेत्रीय अस्पताल भर्ना गराइएपछि अस्पतालमा चिकित्सकको अनुपस्थितिले उपचार अभावमा उनकोे मृत्यु भएको जिकिर उनले गरे ।

“अस्पताल भर्ना गएको दुई घन्टासम्म चन्द्रज्योति पीडाले छट्पटिए पनि तत्काल कार्यरत स्वास्थ्यकर्मीले चिकित्सकलाई खबर नै नगरेका कारण उनको उपचार अभावमा मृत्यु भएको हो ” मृतकका आफन्तको भनाइ छ ।

उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साहले चन्द्रज्योतिको अत्यधिक रक्तस्राबका कारण मृत्यु भएको जानकारी दिए । उनले घरमा प्रसवका बेला सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको र अस्पतालमा भर्ना हँुदा स्वास्थ्य अवस्था गम्भीर भएपछि काममा खटिएका चिकित्सकले उपचारमा अपनाउनुपर्ने सबै उपाय अपनाए पनि उनको बिहान ४ बजे मृत्यु भएको जिकिर गरे।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शव परिवारको जिम्मा लगाइएको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *