नक्कली आरोपित डाक्टर अरुणकुमार गुप्ताले पाए सफाई


काठमाडौँ, २१ फागुन । नक्कली चिकित्सकको आरोपमा नौ महिना अघि पक्राउ परेका डा अरुणकुमार गुप्ताले अदालतबाट सफाई पाएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले गुप्तालाई गत जेठमा बीरगञ्जबाट पक्राउ गरेको थियो ।

गत विहीबार काठमाडौँ जिल्ला अदालतले डा. गुप्ताको मुद्धामा फैसला गर्दै सफाई दिएको हो । न्यायधीश कृष्णराम कोइरालाको एकल इजलासले उनीलाई सफाई दिएको हो ।

एक दशक देखि फिजिसियन तथा बाथरोग विशेषज्ञका रुपमा कार्यरत डा गुप्ताको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली भन्दै सरकारका तर्फबाट नेपाल मेडिकल काउन्सिलले ठगी मुद्धा दायर गरेको थियो ।

सफाई पाएपछि प्रतिक्रिया दिँदै डा गुप्ताले आफ्नो चरित्र हत्या गर्ने नियोजित तरिकाबाट आफूलाई फसाइएको बताए । उनले काउन्सिलबाट लाईसेन्सको बारेमा प्रश्न नउठाएपनि फैसला नआउँदासम्म आफू चिकित्सा सेवामा नआएको बताए । फैसला आएपछि भने सेवालाई निरन्तरता दिने बताए ।

सिआइबीले वीरगंजबाट ९ जनामध्ये डाक्टर गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्तालाई पक्राउ गरेपश्चात् अदालतमा पेश गर्दा रु १ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंले रिहा गरेको थियो ।

गत असार १९ गते रिहा भएका डा. गुप्ताले हिजो काठमाडौं अदालतबाट सफाइ पाएका हुन् । आरोपी ९ जना डाक्टरमध्ये ८ जनाको जिल्ला अदालत पर्सामा तथा गुप्ताको जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । पर्सामा मुद्धा दर्ता भएका ८ जनाले भने गत असोजमै सफाई पाएर काममा फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *