स्वास्थ्य बिमा कार्यक्रम लागू

चितवन, २० फागुन । चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए ।

मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई हजार ५०० तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउने छन् ।

पाँचजनाभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थपे बिमा कार्यक्रममा सरिक हुन सक्नेछन् । तर पाँचजनाभन्दा कम भएका परिवारले पनि रु दुई हजार ५०० नै तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए।

उनीहरुले वर्षभरि चितवनको तोकिएको अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने झाले जानकारी दिनुभयो । यसको अवधि एक वर्षको हुनेछ ।

चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी स्वास्थ्य संस्थाबाट बिमाको सुविधा लिन सकिने छ ।

“एक वर्षलाई प्याकेजमा सेवा पाइने छ, कार्यालय प्रमुख झाले भने, सिटी स्क्यान, एमआरआईलगायत ठूला प्रकृतिका उपचार बिमामा समावेश छैन, डाइग्नोसिसका कार्यक्रमहरु यसमा छन् ।”

जटिल प्रकारका रोगको उपचार बिमाभित्र नपरे पनि साधारण उपचार र रोग पत्ता लगाउनेखालका परीक्षणहरु बिमामार्फत हुने जनाइएको छ । चितवनमा दर्ता सहयोगीको छनोट हुनेबित्तिकै चैत १ गतेबाट नामावली दर्ता सुरु हुने र जेठ १ गतेबाट बिमा गर्न थालिने जनाइएको छ ।

कार्यालय प्रमुख झाका अनुसार चितवनलगायत देशका २२ जिल्लामा यो वर्ष बिमा कार्यक्रम लागू भएका छन् ।

अघिल्लो वर्ष इलाम, कैलाली र बाग्लुङमा बिमा कार्यक्रम नमुनाका रुपमा लागू भएको थियो । सो क्षेत्रमा ५० हजारले बिमा गरेको झाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *