आयुर्वेद अस्पताल निर्माण अलपत्र

धनगढी, १२ फागुन । अत्तरिया नगरपालिकाको राजपुर गाउँमा आयुर्वेद अस्पताल निर्माण गर्ने कार्य अलपत्र परेको छ ।

वन विभागले अस्पताल निर्माण गर्ने भनी छुट्याइएको जग्गाको भोगाधिकार दिन नमानेका कारण निर्माण कार्य अलपत्र परेको हो ।

उक्त ठाउँमा सुदूरपश्चिम क्षेत्रलाई लक्षित गरी सुविधा सम्पन्न ५० श्ययाको अस्पताल बनाउने लक्ष्य रहेको अस्पताल निर्माणका लागि गठित समितिका उपाध्यक्ष छत्रराज जोशीले बताए ।

उनले जग्गाको भोगाधिकार नदिएकै कारण हरेक वर्ष अस्पताल निर्माणका लागि आउने ठूलो रकम खर्च हुन नसकेर ‘फ्रिज’ हुँदै गएको छ भने ।

सरकारसँग जग्गासम्बन्धी स्वामित्व विवाद टुङ्ग्याएर अस्पताल निर्माणमा सहयोग गर्न आग्रह गरिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।

“इलाका वन कार्यालय गेटाले भोगाधिकारका लागि सिफारिस गरेको लामो समय बितिसक्दा पनि विभागले स्वीकृति नदिँदा अस्पताल निर्माण अघि बढ्न सकेको छैन”, जोशीले भने – “ निर्माण कार्य अघि बढ्न नसक्दा बर्सेनि आउने बजेट पनि फ्रिज हुँदै गएको छ ।”

सरकारले आफैँ अस्पताल निर्माणको निर्णय गर्ने तर काम हुन नदिने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो छ ।

उक्त ठाउँमा आयुर्वेद अस्पताल निर्माणका लागि आवश्यक सर्भे र अनुगमन गर्न आयुर्वेद विभागका महानिर्देशकको नेतृत्वको टोलीले हालै स्थलगत रुपमा अध्ययन गरी यसै वर्षदेखि निर्माण सुरु गर्न पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।

स्वास्थ्यमन्त्री गगन थापा र वन राज्यमन्त्री दीर्घराज भाटले हालै निर्माणस्थलको अनुगमन निरीक्षण गरी अस्पतालको काम छिट्टै सुरु गरिने आश्वासन दिए पनि काम अगाडि बढ्न सकेको छैन् ।

अस्पताल भवन निर्माणका लागि त्यहाँ केही वर्षअघि शिलान्याससमेत गरिसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *