स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न

चालु आर्थिक वर्षको लागि विनियोजित बजेट ७७ प्रतिशत खर्च
0
Shares

काठमाडौं, ७ असोज । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न भएको छ।

स्वास्थ्य बीमा बोर्डले मंगलबार गत असार महिनाको सोधभर्ना गर्नु पर्ने रकम ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी प्रक्रिया सम्पन्न भएको हो।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ अर्व बजेट विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्षको बक्यौता १४ अर्व ५१ करोड ५ लाख ९२ हजार १३४ रुपैयाँ अनुमान गरिए पनि रुजु गर्दा ११ अर्व ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ एकीन भएको थियो ।

असारसम्मको त्यो सबै रकम भुक्तानी भएपछि अब बोर्डको खातामा चालु वर्षको बजेट मध्ये ३ अर्ब ४६ करोड ८४ लाख ७ हजार ९४० रुपैयाँ मात्रै बाँकी रहेको छ ।

बोर्डका प्रवक्ता डा पवनकुमार साहले यसपटक उपचारबापतको सोधभर्ना थुप्रिरहने समस्यालाई निराकरण गर्न सफल भएको बताए । उनले भने,  ‘नयाँ सरकार, नयाँ मन्त्री र बोर्डमा पनि नयाँ टिम, यसपटक साच्चिकै हामीले धेरै काम गरेका छौँ । स्वास्थ्य संस्थाहरुको लामो समय देखि थुप्रिएर रहेको रकम हामीले भुक्तानी गरिदिएका छौँ ।’

डा साहले कहिले रकम नहुने र कहिले दावीको रुजु नहुने समस्यालाई पनि यसपटक व्यवस्थापन गरिएको बताए । ‘पहिले ७० जनासम्म रुजु गर्नेहरु हुनुहुन्थ्यो । अहिले त्यो संख्या घटेर ५० जतिमा झरेको छ । तर पनि काम भईरहेको छ । हामीले साउन भदौको पनि छिटै रुजु सकेर भुक्तानी गर्ने योजनामा छौँ,’ उनले भने ।

निजी स्वास्थ्य संस्था रोकिना साथ दावी रकम घट्यो

स्वास्थ्य बीमा बोर्डले गत जेठ देखि स्वास्थ्य बीमाका लागि सूचीकृत निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवाका लागि मात्रै अनुवन्ध गरेको छ । पहिले भने सरकारी सरह नै निजी स्वास्थ्य संस्थाले पनि वीमितको पुरा उपचार गर्दथे । अहिले निजी स्वास्थ्य संस्था बोर्डको सूचीबाट हटदै जाँदा दावी रकम पनि झण्डै एक तिहाईले घटेको छ ।

बोर्डका प्रवक्ता डा साह भन्छन्, ‘पहिले प्रति महिना अढाई देखि तीन अर्व रुपमा माग दावी गरिन्थ्यो । अहिले सो रकम घटेर प्रति महिना एक अर्व भन्दा कममा झरेको छ । यसले पनि आर्थिक दायित्वलाई घटाएको छ ।’

बोर्डमा बाँकी रकमले कति समय पुग्छ ?

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि चालु आर्थिक वर्षका लागि १५ अर्व रकम बजेट विनियोजन गरे पनि अघिल्ला वर्षको दायित्व भुक्तानी गर्दा बजेट अहिले साढे तीन अर्व भन्दा कम रहेको छ । यो रकमले वर्षदिन टिक्छ त ?

बोर्डका प्रवक्ता डा साहले यहि अवस्था रहेमा करीव छ महिना धान्न सक्ने बताउँछन् । उनी भन्छन्,  ‘साढे तीन अर्व जति बाँकी छ, बोर्डले को पेमेन्ट र अन्य कोषबाट जम्मा गरेर करीव अढाई अर्व त्यसमा थप्न सक्छ । यसबाट प्रति महिना करीव एक अर्व भुक्तानी गर्नु परे पनि करीव छ महिना धान्ने छ ।’

उनले थप सेवा विस्तार तथा स्वास्थ्य निजी स्वास्थ्य संस्थाहरु थपिदै गएमा भने रकम अलि छिटो सकिने समेत स्पष्ट पारे । संगसंगै उनले आवश्यक परेका बखत सरकारले रकम उपलव्ध गराउने भन्दै त्यसबेलासम्म विकल्पहरु निस्कने अनुमान गरे ।

स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारको प्राथमिकता

यसैबीच स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको बताएकी छन् । अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण प्रगति भएको उनको भनाई छ ।

मन्त्री मेहताले स्वास्थ्य बीमालाई नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको ठोकुवा गरिन।

अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमका लागि खुसीको विषय भएको उल्लेख गर्दै उनले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई समयमै भुक्तानी गर्ने प्रणालीलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *