मिर्गौला रोग पीडितद्वारा सहयोगको अपिल

पाल्पा, १० फागुन । मिर्गौलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात जोडेकी छन् ।

आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बनेकी हुन् । २०७३ सालदेखि मिर्गौला पीडित भएकी दङ्गालले ऋणधन गरी रु पाँच लाख उपचार खर्च सकेपनि उपचारमा अझै पैसा लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकार तथा स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीसँग आग्रह गर्दै आएकी छन् ।

पीडित दङ्गालका श्रीमान् डोलबहादुर दङ्गालले सिकर्मीको काम गरेपनि अहिले उनको पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा झनै समस्या थपिएको आफन्त राधाकृष्ण दङ्गालले जानकारी दिए ।

२०७३ भदौ १४ गतेदेखि दुवै मिर्गौला पीडित भई पाल्पा, भैरहवा तथा काठमाडौँका अस्पतालमा उपचार भएको आफन्तले जानकारी दिए । अझै उपचारको आवश्यक रहेको भन्ने चिकित्सकको सल्लाह अनुसार अघि बढ्न आर्थिक समस्या भएपछि सहयोगका लागि हात जोडेको दङ्गालको भनाइ छ ।

पीडित दङ्गालको श्रीमान्सहित परिवारमा तीन छोरी र एक छोरा रहेका छन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हँुदा मिर्गौलाको उपचारमा समस्या थपिएको हो । पछिल्ला वर्षमा पाल्पामा मिर्गौला पीडितको सङ्ख्या बढेको छ ।

मिर्गौला पीडितलाई सरकारले उपचारमा आर्थिक सहयोग गरे पनि पूर्ण सहयोग बिना बिरामी उपचार गराउन सक्ने अवस्था भने छैन । पीडित दङ्गालले आफूलाई आर्थिक सहयोग गरी उपचारबाट पुनर्जीवन दिन उनले सबैलाइ आग्रह गरेकी छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *