पोलियो थोपा खुवाउने दिन अझै टुङ्गो लागेन

काठमाडौँ, ७ फागुन । स्वास्थ्य मन्त्रालयले स्थगित पोलियो थोपा खुवाउने कार्यक्रमको नयाँ तालिका अझै सार्वजनिक गर्न सकेको छैन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले स्थगित पोलियो खुवाउने कार्यक्रम १४ र १५ फागुनमा राख्न प्रस्ताव गरेको थियो ।

तर विभागको प्रस्तावलाई मन्त्रालयले स्वीकृति दिन सकेको छैन । बरु मन्त्रालयले विभागको बालस्वास्थ्य महाशाखाले आन्तरिक तयारी पुरा नभईसकेको भन्दै अझै केही दिन पछि धकलिने संकेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले खोप शाखाको केही तयारी अझै बाँकी देखिएकोले मिति अझै टुग्याउँन नसकिएको बताए । उनले फागुनको दोस्रो साता तयारी नपुग्ने, तेस्रो साता हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम हुने भएकोले पोलियो थोपा खुवाउने कार्यक्रम केही पछाडी धकलिने बताए ।

यसअघि महाशाखाले काठमाडौँ उपत्यका सहित देशका १५ जिल्लामा फागुनको ७ र ८ (आज र भोली)का लागि खुवाउने पूर्वनिर्धारित तालिका स्थगित गरेको थियो ।

खास कारण स्वास्थ्यकर्मीको आन्दोलन

स्वास्थ्य मन्त्रालयले आन्तरिक तयारी पुरा नभएर नयाँ मिति घोषणा हुन नसकेको बताए पनि खास कारण भने स्वास्थ्यकर्मीको आन्दोलन नटुगिंनु हो ।

विभाग स्रोत भन्छ, पदस्थापन हुन नसकेका ९ ख वाला स्वास्थ्यकर्मीहरुले खुल्लम खुल्ला रुपमा पोलियो खुवाउने कार्यक्रम बहिस्कार गर्ने भनेर आन्दोलन गरिरहेका छन् , यस्तो अवस्थामा पोलियो थोपा खुवाउने मिति कसरी घोषणा गर्नु ? त्यसैले हो ।’

हुन पनि स्तरबृद्धि भई पदस्थापन हुन नसकेका ९ ख वाला स्वास्थ्यकर्मीले तयारीका जिल्लामा आन्दोलन थप चर्काउँदै गएका छन् । प्रवक्ता डोटेलले भने कर्मचारीको आन्दोलनका कारण मिति घोषणा हुनमा ढिलाई नगरिएको दावि गरे । उनले खोप जस्तो महत्वपूर्ण कार्यमा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यता स्वास्थ्यकर्मीहरुका ६ वटा ट्रेड युनियनले भने शुक्रबार देखि नै सबैकाम काज ठप्प पार्ने गरि आन्दोलनको नयाँ कार्यक्रम तय गरेको बताएका छन् । उनीहरुले तत्काल माग सम्वोधन नभए १५ फागुनको स्वास्थ्य सेवा दिवस समेत नमनाउने घोषणा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *