चितवनमा राससको आयोजनामा पत्रकारको पूर्ण स्वास्थ्य परीक्षण

चितवन, ४ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ५६औँं वार्षिकोत्सवका अवसरमा आज चितवनमा पत्रकारका लागि ‘पूर्ण स्वास्थ्य परीक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।

रासस र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका १५० भन्दा बढी पत्रकारले स्वास्थ परीक्षण गराएका छन् ।

यही फागुन ७ गते राससले आफ्नो ५६औं वार्षिकोत्सव मनाउँदैछ ।

चितवनमा आज भएको उक्त कार्यक्रममा बोल्दै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारको स्वास्थ परीक्षणमा कलेजले गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।’

चितवन जिल्ला मेडिकल ‘हब’को रुपमा स्थापित भएको उनको भनाइ थियो । अध्यक्ष वाग्लेले ४०० भन्दा बढी श्यया रहेको यस अस्पतालले स्वास्थ्य सेवामा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले रासस र कलेजले पत्रकारका लागि स्वास्थ्य परीक्षण कार्यक्रम राख्नु सकारात्मक भएको बताए । उनले अरुका लागि काम गर्ने पत्रकार स्वस्थ्य हुनुपर्नेमा समेत जोड दिए।

कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेले रासससँग सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै हरेक मानिसले ६/६ महिनामा स्वास्थ्य जाँच गराउनु आवश्यक भएको बताए ।

कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा(एमाले)का अरुण पीडित भण्डारी, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिनालगायत स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, चितवनका प्रहरी प्रमुख दीपक थापा, भरतपुर उपमहानगरका प्रमुख महेश बराल, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतको सहभागिता थियो ।

पत्रकारलाई उपचारमा २० प्रतिशत छुटको घोषणा

चितवन मेडिकल कलेजले उपचारमा पत्रकारका लागि २० प्रतिशत छुटको घोषणा गरेको छ । राससको ५६ औंँ वार्षिकोत्सवका अवसरमा आज चितवनमा भएको पूर्ण स्वास्थ्य परीक्षणका क्रममा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले यस्तो घोषणा गरेका हुन् ।

परिचयपत्रको आधारमा हरेक सेवामा पत्रकारलाई सो छुट सुविधा दिइने उहाँले जानकारी दिए । नेपाली चिकित्सकको लगानीमा खुलेको कलेज आइएसओबाट मान्यता प्राप्त एकमात्र मेडिकल कलेज भएको अस्पतालको भनाइ छ ।

यहाँ हाल एक हजार २०० कर्मचारी र दुई हजार २०० बढी विद्यार्थी छन् । वार्षिक कलेजले चार लाख १७ हजारलाई बहिरङ्ग सेवा दिँदै आएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयमा दर्ता भएको नेपालकै सबैभन्दा ठूलो अस्पताल बनेको यो कलेजमा सबैभन्दा बढी विशेषज्ञ चिकित्सक रहेको व्यवस्थापक पारस अधिकारीले जानकारी दिए ।

कलेजले सेवालाई चुस्त पार्न अत्याधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सक राखेर सेवा प्रभावकारी बनाउँदै लगेको समेत उनको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *