बजेट रकमान्तर गरेर स्वास्थ्यले १ अर्व १८ करोडको मेडिकल सामग्री खरीद गर्दै

काठमाडौँ, ३ फागुन । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्ष भित्रै प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पतालका लागि १ अर्व १८ करोड बराबरको स्वास्थ्य उपकरण खरीद गर्ने भएको छ ।

उपकरण खरीदका स्वास्थ्यले रकमान्तरका लागि अर्थमन्त्रालयसंग स्वीकृति लिई खरीद प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले चालु आर्थिक बर्षको दुई महिना भित्रमै मेडिकल उपकरण आउने गरि प्राथमिक स्वास्थ्य केन्द्रका लागि ६६ करोड, जिल्ला अस्पतालका लागि साढे १८ करोड र अञ्चल अस्पतालका लागि साढे ३३ करोड रकम छुट्याएको जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्रसम्म पठाइएका चिकित्सकले उपकरण अभावमा सामान्य सेवा समेत दिन अप्ठेरो परेको गुनासो गर्न थालेपछि मन्त्रालयले उपकरण खरिदका लागि बजेट रकमान्तर गर्ने प्रक्रिया थालेको हो ।

‘हामीले स्थानीय तहसम्म चिकित्सक त पठायौँ तर उपकरण रहेनछ, पीएचसीमा मात्रै होइन, जिल्ला र कतिपय अञ्चल अस्पतालमा समेत कतिपय उपकरण नभएको पाइयो । चिकित्सकहरुले आफूले सक्ने सेवा समेत उपकरण नभएकोले दिन नसकेको गुनासो गर्नुभयो । त्यसैले हामीले यसपटक उपकरण खरीदका लागि बजेट रकमान्तर गरेका हौँ ,’ लेखा अधिकृत शर्माले भने ।

उनले यो बजेटपछि हरेक पीएचसीको स्तर, जिल्ला अस्पतालको स्तर र अञ्चल अस्पतालको स्तर समान हुने बताए । ‘अव इलामको पीएचसी र बैतडीको पीएचसी समान हुन्छ । कालिकोटको अस्पताल र पाल्पाको अस्पतालमा उपकरण समान हुन्छन् । महाकाली अञ्चल अस्पताल र लुम्बिनी अञ्चल अस्पतालले दिने सेवा समान हुन्छ । उपकरण पीएचसीमा के कति , जिल्लामा के कति र अञ्चलमा के कति भन्ने छुट्याइन्छ ‘अधिकृत शर्माले भने ।

मन्त्रालयले अर्थबाट स्वीकृत आएपछि खरीद प्रक्रिया सुरु गर्न स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखालाई निर्देशन दिइसकेको छ । महाशाखाले पनि प्रक्रिया अघि बढाईसकेको बताएको छ ।

यसअघि सरकारले देशभरका पीएचसीमा चिकित्सक पठाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार चिकित्सक पुगेपनि उपकरण अभावमा प्रभावकारी काम गर्न नसकेको चिकित्सक स्वयंले बताउदै आएका थिए । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य संस्था साधनसम्पन्न बनाउने अभियान अन्तर्गत उपकरण खरीद प्रक्रिया अघि बढाईएको बताउदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *