आँखाको नानी दान गर्ने बढे, १२ हजार दृष्टिविहीनले देख्न सके


काठमाडौँ, १२ माघ । पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरूका लागि मृत्युपश्चात नानी दान गर्नेहरूको संख्या बढ्दै गएको पाइएको छ ।

आफ्नो मृत्युपश्चात नेत्रदान गर्दा दृष्टिविहिनले संसार देख्न पाउने भएकाले आँखा दानलाई महादानको रूपमा मानिसहरूमा चेतनास्तर बढ्दै गएकाले आँखा दान गर्न चाहने दाताहरू बढ्दै गएका हुन् ।

दाताहरूको संख्या बढ्दै गएपछि अब आँखाको नानी फेर्न कुर्नुपर्ने बाध्यता पनि नरहेको तिलगंगा आँखा अस्पतालको आँखा बैंकले जनाएको छ ।आँखा बैंकका म्यानेजर पंखनारायण त्वाएनाका अनुसार हालसम्म आँखा बैंकमा आँखा दान गर्न चाहने दाताहरूको संख्या ३६ हजार ६ सय ४ जना पुगिसकेको छ ।

आँखा दान गर्न इच्चापत्रमा हस्ताक्षर गर्नेहरूमा दुईतिहाई पुरुष छन् । नेपालमा आँखादान सुरु भएदेखि अहिलेसम्मको तथ्यांक हेर्दा २२ वर्षमा करिब १२ हजारभन्दा दृष्टिविहिनले संसार देख्ने अवसर पाइसकेका छन् ।

बैंकले उपलब्ध गराउँदै आएको इच्छापत्रमा हस्ताक्षर गर्दा दाताले परिवार तथा आफन्सहित दुई जना साक्षी चाहिन्छ । उक्त इच्छापत्र बुझाएपछि बैंकले इच्छुक दातालाई आँखादान सम्मानपत्र दिने व्यवस्था छ ।

इच्छाएका व्यक्ति सबैले आँखा दान गर्छन् भन्ने ग्यारेन्टी भने नहुने बताउँछन् बैंकका व्यवस्थापक त्वएना । उनी भन्छन्, “दाताहरूको के भएर मृत्यु हुन्छ भन्ने हामीलाई थाहा हुन्न, कतिले जानकारी गर्न बिर्सनुहुन्छ, हामीले फलोअप गर्न नमिल्ने भएकाले पनि सबैंको आँखाको नानी निकाल्न सम्भव नभएको हो ।”

आँखा बैंकले लामो समयदेखि मृत्युपश्चात आँखा दान गर्ने कार्यक्रम गर्दै आएको छ । त्यसमा विशेषगरी पशुपतिको आर्यघाट, विद्युतीय शवदाह गृह, भक्तेश्वर घाटलगायतका ठाउँबाट पनि आँखाको नानी संकलन गर्ने गरेको बैंकले जनाएको छ ।

त्यस्तै, ४ वर्षअघिदेखि आँखा दानको विषयमा जनचेतना फैलाउने उद्देश्यले वीर, त्रिवि शिक्षण, पाटन अस्पतालमा हस्पिटल कर्नियर रिट्राभल प्रोग्राम पनि सञ्चालन गर्दै आएको छ । “३ वटा अस्पतालमा आँखा दानको विषयमा परामर्श दिन हाम्रा परामर्शदाताहरू खटिएका छन्, यदि कसैको उपचारको क्रममा मृत्यु भयो र उनीहरूको परिवार राजी भएमा हामी मृतकको आँखाको नानी निकाल्छौ,” मेनेजर त्वाएना भन्छन्, “अहिले यो कार्यक्रम निकै प्रभावकारी भइरहेको छ, पछिल्लो समयमा आँखा दान गर्न चाहने मानिसहरूको संख्या बढ्दो देखिएकाले पहिलेजस्तो आँखाको नानी फेर्न वर्षौं कुर्नुपर्ने बाध्यता छैन अब ।”

आँखा दान गर्ने गरी मृत्युपश्चात संकलन भएकामा अधिकांश उपत्यकाभित्रका छन् । यसमा उपत्यकाका ८० प्रतिशत छन् भने उपत्यकाबाहिरका ८० प्रतिशत रहेको आँखा बैंकले जनाएको छ । आँखाको नानी प्रत्यारोपण विशेषज्ञका अनुसार आँखाको नानीको दान जसले पनि गर्न सक्छ ।

यसमा कुनै उमेर, लिंग तथा सामान्य स्वास्थ्य समस्या भएका मानिसहरूले पनि दान गर्न पाउँछन् । तर, रगतको माध्यमबाट सर्ने रोग जस्तै– एचआईभी, हेपाटाइटीस बी, सी, सिफिलिसजस्ता रोगका बिरामीहरूले भने आँखा दान गर्न मिल्दैन । एक अध्ययनअनुसार हाल विश्वमा प्रत्येक सेकेन्डमा एक जनाले दृष्टि गुमाउँदै आएका छन् ।

हाल ४ करोड ५० लाख व्यक्ति दृष्टिविहीन छन् । प्रत्येक १० दृष्टिविहीनमध्ये ८ को उपचार सम्भव रहेको छ । नेपालमा दृष्टिविहीनको समस्या भोगेकामध्ये ६५ प्रतिशतमा मोतियाबिन्दु देखिएको छ । न्युयोर्क सहरमा सन् १९४४ मा सर्वप्रथम आँखा बैंक खुलेको थियो । नेपालमा भने १९९४ मा पहिलोपटक आँखा बैंकको स्थापना भएको हो ।

  • आजको कारोबार दैनिकमा जुनु भट्टराईको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *