चैत १ देखि चुरोट तथा सुर्ती बेच्न छुट्टै पसल चाहिने

काठमाडौँ, ६  माघ । सरकारले आगामी चैत १ गतेदेखि चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ११ (छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो ।

बैठकले फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न आन्तरिक राजस्व कार्यालयबाट सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलमा मात्र बिक्री वितरण गर्न पाइने निर्णय गरको छ।

सुर्तीजन्य पदार्थको कारोबारका लागि दर्ता गर्न २०७३ फागुन मसान्तभित्रको समय स्वास्थ्य मन्त्रालयले दिनेछ।

तोकिएको म्यादभित्र दर्ता नगरी तथा इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा उक्त ऐनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

इजाजतपत्र लिएका बिक्रेताले आफ्नो पसल अगाडि सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवतीलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना पनि टाँस्नुपर्नेछ । सो सूचना ३० सेमी लम्बाइ र २० सेमी चौडाइ हुनुपर्नेछ ।

अब दैनिक उपयोग्य वस्तु बिक्री गर्ने स्थानमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न पाइने छैन । सोको अनुगमन गर्न सरकारले हरेक जिल्लाका सहायक प्रजिअलाई निरीक्षकका रुपमा तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *